काठमाडौँ । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन मन्त्री गौरीकुमारी यादवलाई बुझाएको हो।
प्रतिवेदनअनुसार अर्थ मन्त्रालयले नेपाली सेनालाई मेसिन मर्मत र कच्चा पदार्थ खरिदका लागि रु. ३३ लाख बजेट निकासा गरिसकेको छ। सेनाको प्राविधिक टोलीले मेसिन मर्मत, सरसफाइ तथा कच्चा पदार्थ खरिदको काम अघि बढाएको छ। साथै, उद्योगको भौतिक संरचना र विद्युत् प्रणाली मर्मतको काम पनि सम्बन्धित निकायले गरिरहेका छन्।
सरकारले परीक्षण उत्पादनको नतिजाका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना अघि बढाएको जनाएको छ।
२०८३ असार ३०, मंगलवार ०८:५० प्रकाशित



