सागर पण्डित, काठमाडौं ।
निजामती कर्मचारीलाई मर्यादित, जिम्मेवार, निष्पक्ष र सेवामुखी बनाउने उद्देश्यले कानुनमै स्पष्ट आचरणका व्यवस्था गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा प्रशासनिक संयन्त्रमाथि प्रश्न उठ्दै आइरहेको छ ।
निजामती सेवा ऐन, २०४९, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ ले कर्मचारीका लागि पदीय मर्यादा, राजनीतिक तटस्थता, सदाचार, पारदर्शिता र सेवाग्राहीमैत्री व्यवहार अनिवार्य गरेको छ । तर व्यवहारमा ती व्यवस्था कागजमै सीमित हुँदै गएको प्रशासनविद्हरू बताउँछन् ।
केन्द्रीय कर्मचारी निकाय (सिपिए) को भूमिका निर्वाह गर्ने भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत कर्मचारीले आचरण पालना गरे नगरेको विषयमा प्रभावकारी अनुगमन गर्न नसकेको आरोप छ ।
प्रशासन सुधार, कर्मचारीको नैतिकता र सेवा प्रवाह सुधार गर्नुपर्ने जिम्मेवारी बोकेको सामान्य प्रशासन मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व नै कर्मचारीको आचरण कार्यान्वयन गराउने विषयमा कमजोर देखिएको विज्ञहरूको टिप्पणी छ ।
कर्मचारी व्यवस्थापन, सरुवा र पदस्थापनमा बढी केन्द्रित हुने तर कर्मचारीको व्यवहार, जिम्मेवारीबोध र सेवाप्रतिको उत्तरदायित्वमा पर्याप्त ध्यान नदिने प्रवृत्तिले समस्या बढाएको उनीहरूको भनाइ छ ।
सुशासनलाई मुख्य एजेन्डा बनाएको सरकारले समेत कर्मचारी आचरणलाई प्राथमिकतामा राख्नुपर्ने भए पनि त्यसतर्फ प्रभावकारी कदम चाल्न नसकेको देखिन्छ । प्रत्येक मन्त्रालयका मन्त्री र सचिवले आफ्नो मातहतका कर्मचारीलाई ऐन नियममा भएका आचरणसम्बन्धी व्यवस्था पालना गराउने जिम्मेवारी निर्वाह गर्नुपर्ने भए पनि व्यवहारमा त्यो कमजोर रहेको छ ।
प्रशासनविद्हरूका अनुसार कर्मचारीले कानुनले तोकेको आचरण इमान्दारीपूर्वक पालना गर्ने हो भने सेवाप्रतिको जनविश्वास बढ्नुका साथै भ्रष्टाचार नियन्त्रणमा समेत ठूलो सहयोग पुग्न सक्छ ।
निजामती कर्मचारीका मुख्य आचरण सम्बन्धी प्रावधान
पदीय आचरण
- कार्यालयमा नियमित उपस्थित हुनुपर्ने र स्वीकृति बिना अनुपस्थित हुन नहुने
- आफ्नो जिम्मेवारी इमान्दारी, अनुशासन र तत्परताका साथ पूरा गर्नुपर्ने
- माथिल्लो अधिकारीको कानुनसम्मत निर्देशन पालना गर्नुपर्ने
- वरिष्ठ कर्मचारीप्रति सम्मान र कनिष्ठप्रति उचित व्यवहार गर्नुपर्ने
- सेवाग्राहीसँग मर्यादित र निष्पक्ष व्यवहार गर्नुपर्ने
- कार्यालय समयमा कार्यालयसम्बन्धी काम मात्र गर्नुपर्ने
- सरकारी स्रोत, साधन र सुविधाको दुरुपयोग गर्न नहुने
- काम कारबाहीमा निष्पक्षता र पारदर्शिता कायम गर्नुपर्ने
- स्वार्थ जोडिएको विषयमा जानकारी गराउनुपर्ने
राजनीतिक तथा पेशागत आचरण
- राजनीतिक दलको सदस्य बन्न वा राजनीतिक गतिविधिमा संलग्न हुन नहुने
- सरकारको सार्वजनिक आलोचना गर्न नहुने
- निर्वाचनमा राजनीतिक दलको प्रचारप्रसार गर्न नहुने
- राजनीतिक वा अन्य अनुचित प्रभाव पार्न नहुने
- आफ्नो पेशाको मर्यादा कायम राख्नुपर्ने
- क्षमता विकास गर्दै गुणस्तरीय कार्यसम्पादन गर्नुपर्ने
- आर्थिक अनुशासन र सदाचार कायम गर्नुपर्ने
गोपनीयता र व्यक्तिगत आचरण
- सरकारी कामका क्रममा प्राप्त गोप्य सूचना सार्वजनिक गर्न नहुने
- सरकारी काम प्रभावित हुने गरी उपहार, दान, चन्दा वा सुविधा लिन नहुने
- व्यापार व्यवसाय सञ्चालन गर्न नहुने
- स्थायी आवासीय अनुमति लिन वा आवेदन दिन नहुने
- जुवा, तास, सार्वजनिक रुपमा मदिरा सेवन तथा समाजमा निन्दनीय कार्य गर्न नहुने
- यौनजन्य दुर्व्यवहार, हिंसा वा अमर्यादित व्यवहार गर्न नहुने
आचरण उल्लंघन गरेमा हुने कारबाही
आचरण उल्लंघनलाई कानुनले सामान्य विषयका रूपमा लिएको छैन । गम्भीर प्रकृतिका उल्लंघनमा कडा कारबाहीको व्यवस्था गरिएको छ ।
- राजनीतिमा सक्रिय भएमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्तसम्म हुन सक्ने
- स्थायी आवासीय अनुमति लिएमा वा आवेदन दिएमा सेवाबाट हटाउने व्यवस्था
- अन्य आचरण उल्लंघनमा दुईदेखि पाँच वर्षसम्म बढुवा रोक्का वा तलब वृद्धि रोक्का हुन सक्ने
- आचरण पटक–पटक उल्लंघन गरेमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्तसम्म हुन सक्ने
निजामती सेवा केवल रोजगारी होइन, सार्वजनिक विश्वाससँग जोडिएको जिम्मेवारी हो । सार्वजनिक सेवामा प्रवेश गरेपछि कर्मचारीले व्यक्तिगत स्वतन्त्रतासँगै केही अतिरिक्त जिम्मेवारी र अनुशासन स्वीकार गर्नुपर्छ ।
कानुनमा भएका आचरणका व्यवस्था व्यवहारमा लागू गर्न सके मात्रै प्रशासन जनमुखी, निष्पक्ष र विश्वसनीय बन्न सक्छ । तर अनुगमन र कारबाही प्रणाली कमजोर रहिरहेमा आचरणसम्बन्धी कानुनी व्यवस्था केवल कागजी प्रतिबद्धतामै सीमित हुने जोखिम छ ।

