काठमाडौं । नवनियुक्त गृहमन्त्री सुदन गुरुङ ले २०५८ साल जेठ १९ गते भएको बहुचर्चित ‘दरबार हत्याकाण्ड’को पुनः विस्तृत छानबिन गरिने घोषणा गरेका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै पहिलो दिन उनले यो संवेदनशील विषयलाई पुनः उठाउँदै नयाँ बहस सुरु गरिदिएका छन् ।
गृह मन्त्रालयमा पदबहालीका क्रममा विभिन्न निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले विगतमा तयार गरिएका छानबिन प्रतिवेदनलाई आधार बनाएर दरबार हत्याकाण्डको थप गहिरो र विस्तृत अनुसन्धान अघि बढाइने बताएका हुन् ।
उनले दशकौँदेखि नेपाली समाजमा अनुत्तरित प्रश्न, आशंका र विवादका रूपमा रहँदै आएको दरबार हत्याकाण्डबारे “सत्यतथ्य जनतासामु ल्याउनुपर्ने आवश्यकता” रहेको उल्लेख गरेका छन् ।
मन्त्री गुरुङको यो घोषणासँगै राजनीतिक वृत्त, सुरक्षा निकाय र सर्वसाधारणबीच फेरि एकपटक दरबार हत्याकाण्ड चर्चाको केन्द्रमा आएको छ ।२०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाह सहित राजपरिवारका अधिकांश सदस्यको हत्या भएको घटनालाई नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र विवादास्पद घटनामध्ये एक मानिन्छ । त्यसबेला गठित छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रबाट घटना भएको निष्कर्ष निकाले पनि त्यस प्रतिवेदनमाथि वर्षौंदेखि प्रश्न उठ्दै आएका छन् ।
गृहमन्त्री गुरुङको पछिल्लो घोषणाले अब राज्यले फेरि त्यो ‘अध्याय’ खोल्ने संकेत दिएको विश्लेषण गरिएको छ । विपक्षी दलदेखि राजावादी वृत्तसम्मले समेत यस विषयलाई चासोका साथ हेर्न थालेका छन् ।

