कर्मचारीको लागि खुशीको खबर :अब प्रदेशमै पाइने भयो निजामती अस्पतालको सहुलियत उपचार


काठमाडौं । निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारका लागि सरकारले ठूलो राहत दिने निर्णय गरेको छ । अब निजामती कर्मचारी अस्पतालको सहुलियतसहितको स्वास्थ्य सेवा काठमाडौंमा मात्रै सीमित नहुने भएको छ ।

निजामती कर्मचारी अस्पतालले आइतबार जारी गरेको सूचनाअनुसार आगामी असार २५ गतेदेखि प्रदेशस्तरका अस्पतालमार्फत पनि स्वास्थ्य सेवा विस्तार गर्न लागिएको हो । पहिलो चरणमा चितवनको भरतपुर अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पतालबाट सेवा सुरु गरिनेछ ।

भूमिव्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनपछि अस्पतालले प्रदेशस्तरमा सेवा विस्तारको तयारी अघि बढाएको हो । मन्त्रालयका अनुसार यस अभियानलाई क्रमशः देशभरका प्रदेश अस्पतालमा विस्तार गरिनेछ ।

सरकारले निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रितलाई गुणस्तरीय, सहज, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने नीति लिएको छ । सोही नीतिअनुसार अब काठमाडौं धाएर उपचार गराउनुपर्ने बाध्यता क्रमशः हट्दै जाने अपेक्षा गरिएको छ ।

हालसम्म अधिकांश कर्मचारीले सहुलियत उपचारका लागि काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालमै पुग्नुपर्ने अवस्था थियो । सेवा प्रदेशसम्म विस्तार भएपछि समय, खर्च र झन्झट घट्ने विश्वास गरिएको छ ।

निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको उपचार सेवा अब प्रदेशका अस्पतालबाटै उपलब्ध हुने भएपछि कर्मचारी वृत्तमा यसलाई सकारात्मक कदमका रूपमा हेरिएको छ ।

२०८३ जेष्ठ २४, आईतवार १९:४० प्रकाशित
ट्रेन्डिङ समाचार