काठमाडौ
शिक्षाविद् डा. मनप्रसाद वाग्लेले विगतमा एक विश्वविद्यालयको उपकुलपति (भिसी) बनाउन केही राजनीतिक दलका कार्यकर्ताहरूले आफूसँग दुई करोड रुपैयाँसम्म मागेको भन्दै पीडा व्यक्त गरेका छन्। उक्त रकम दिन नसक्ने बताएपछि आफू पटक–पटक उपकुलपति बन्ने अवसरबाट वञ्चित भएको उनले बताएका छन्।
करिब १० वर्षअघिको अवस्था सम्झँदै डा. वाग्लेले विभिन्न बुँदामार्फत आफ्नो भोगाइ सार्वजनिक गरेका हुन्। वर्तमान सरकारले खुला प्रतिस्पर्धाका आधारमा निष्पक्ष रूपमा उपकुलपति छनोट प्रक्रिया अघि बढाएको भन्दै उनले त्यसको प्रशंसा गरेका छन्। साथै, अब विगतजस्तो करोडौँ रुपैयाँको बार्गेनिङ नहुने विश्वास व्यक्त गर्दै उनले इमानदार र विद्वत् वर्गलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेका छन्।
वाग्लेको पीडादायी स्मरण
विगतका ती नमीठा अनुभवहरू सम्झँदा आज पनि मनमा एउटा प्रश्न उब्जिन्छ— के अब साँच्चै योग्य व्यक्तिले निष्पक्ष रूपमा न्याय पाउनेछन्? यो कुनै काल्पनिक कथा होइन, बरु शैक्षिक क्षेत्रभित्र मैले भोगेको यथार्थ र व्यथा हो।
यस्ता अनेकौँ घटनामध्ये एउटा प्रतिनिधि घटना यहाँ उल्लेख गर्न चाहन्छु—
१.
विगतमा विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि छनोट समितिले पटक–पटक मेरो नाम सिफारिस गरेको थियो। मेरो योग्यतामाथि विश्वास गरेर नाम सिफारिस गर्ने आदरणीय सदस्यहरूप्रति म सधैँ आभारी रहनेछु।
२.
तर, त्यतिबेला मलाई थाहा थिएन कि उपकुलपति नियुक्त हुन केवल प्राज्ञिक योग्यता मात्र पर्याप्त नहुँदो रहेछ, केही ‘विशेष प्रकारका योग्यता’ पनि चाहिने रहेछन्।
३.
करिब १० वर्षअघि एउटा विश्वविद्यालयको उपकुलपति सिफारिस सूचीमा मेरो नाम समावेश भयो। त्यतिखेर मात्र ममा दुईवटा ‘अदृश्य योग्यता’ को कमी रहेको यथार्थ खुल्यो।
४.
सिफारिसमा नाम परेपछि विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूका फोन व्यवस्थापन गर्न मलाई हम्मे–हम्मे पर्यो।
५.
यहाँसम्म कि तत्कालीन सत्ता केन्द्रसँग जोडिएका कार्यकर्ताहरूले “तपाईंसँग विश्वविद्यालयबारे केही कुरा गर्न हाम्रो पार्टीले चाहेको छ” भन्दै भेट्ने प्रस्तावसमेत राखे।
६.
भेटघाटको समय बालुवाटारस्थित ‘नेपाल हाउस’ मा तय भयो। त्यहाँ पुग्दा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूको अनौठो भीड देखिन्थ्यो।
७.
मसँग भेट्न छुट्टै टेबलको व्यवस्था गरिएको थियो। करिब ७–८ जना कार्यकर्ताले मलाई स्वागत गरे। तीमध्ये सम्बन्धित दलका एक केन्द्रीय सदस्य पनि थिए। मलाई देख्नेबित्तिकै उनी बाहिरिए। सायद शिक्षासम्बन्धी कार्यक्रमहरूमा हामी एकअर्कालाई राम्ररी चिनेकाले उनलाई त्यहाँ बस्न असहज लागेको हुनुपर्छ।
८.
उनी बाहिरिएपछि बाँकी कार्यकर्ताहरूले सिधै बार्गेनिङ सुरु गरे। उनीहरूले भने—
“फलाना व्यक्तिले दुई करोड दिने भएका छन्, तपाईं कति दिन सक्नुहुन्छ?”
९.
उनीहरूको कुरा सुन्दा म छाँगाबाट खसेझैँ भएँ। उनीहरूले विभिन्न परिकार मगाएर खाइरहेका थिए, मैले भने केवल एक गिलास जुस लिएको थिएँ।
१०.
उनीहरू मेरो जवाफको प्रतीक्षामा थिए। म उठेर भनेँ—
“म उपकुलपति पद खरिद गर्न सक्दिनँ। मेरो नैतिकताले त्यो स्वीकार गर्दैन। यो कुरा तपाईंहरूको पार्टी नेतृत्वलाई पनि स्पष्ट भनिदिनुहोस्।”
मैले थपेँ—
“यदि मसँग त्यति ठूलो रकम हुन्थ्यो भने म कुनै शिक्षा केन्द्र स्थापना गरेर गरिबका छोराछोरीलाई पढाउँथेँ।”
त्यसपछि उनीहरूले खाएको खाजाको २,३४० रुपैयाँ बिल आफैँ तिरेर म त्यहाँबाट बाहिरिएँ।
११.
भोलिपल्ट अर्को दलबाट फोन आयो। उनीहरूले भने—
“यो विश्वविद्यालयको जिम्मेवारी हाम्रो पार्टीले मलाई दिएको छ। यदि तपाईंले पार्टीलाई सहयोग गर्न सक्नुहुन्छ भने हामी तपाईंलाई भिसी बनाउँछौँ।”
मैले सोधेँ— “कस्तो सहयोग?”
जवाफ आयो—
“हाम्रा केही मान्छेलाई जागिर दिने लिखित ग्यारेन्टी र एउटा मेडिकल कलेजलाई सम्बन्धन।”
मैले तुरुन्तै जवाफ दिएँ—
“त्यस्तो वचन म कदापि दिन सक्दिनँ। बरु उपकुलपति नभए पनि केही फरक पर्दैन।”
यो संवाद आज पनि हिजोजस्तै लाग्छ।
१२.
त्यसपछि मैले एउटा कठोर सत्य बुझेँ— उपकुलपति हुन कि त राजनीतिक दलको ‘भरिया’ बन्नुपर्ने रहेछ, कि त ‘ब्रिफकेस’ बुझाउनुपर्ने रहेछ। म यी दुवै योग्यतामा असफल भएँ।
१३.
आज यी कुरा किन लेख्दैछु भने, यस्ता घटना मैले पटक–पटक भोगेको छु र कहिल्यै उपकुलपति बन्न सकिनँ। तर मलाई गर्व छ— त्यही निष्ठाका कारण आज पनि म समाजमा शिर ठाडो पारेर हिँड्न सकेको छु।
१४.
अहिले परिस्थिति फेरिएको छ। कम्तीमा अहिले न दलको भरिया बन्नुपर्छ, न ब्रिफकेस बुझाउनुपर्छ। त्यसैले, कार्यविधिले तोकेको योग्यता पुगेका सम्पूर्ण विद्वान् वर्गलाई निर्धक्क भएर आवेदन दिन म आग्रह गर्दछु।
१५.
यहाँ मैले कुनै पनि दल वा व्यक्तिको नाम उल्लेख नगर्नु मेरो नैतिक जिम्मेवारी हो। विगतको उपकुलपति छनोट प्रक्रियाको विद्रूप चित्र बुझ्न यो एउटा उदाहरण नै पर्याप्त छ।
१६.
बुझ्नेलाई यति नै काफी छ।
१७.
अब उमेरले डाँडा काट्दै छ। मभन्दा योग्य र दक्ष व्यक्तिहरू धेरै हुनुहुन्छ। मेरो एउटै चाहना छ— अब उपकुलपति पदमा सही र योग्य व्यक्तिले स्थान पाऊन्।
मेरो हार्दिक शुभकामना। 🙏


