नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउने जिम्मेवारी


काठमाडौं
जेनजी प्रदर्शनपछिको पहिलो कारोबारमै सेयरबजार क्र्यास भएपछि सरकारले पुँजीबजारको अवस्था बुझ्न पाँच सदस्य अध्ययन कार्यदल बनाएको छ।
अर्थ मन्त्रालयले शुक्रबार धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको हो।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुँयाल र सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।उक्त कार्यदलले पुँजी बजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल बढाउनका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको बारेमा अध्ययन गर्नेछ ।
कार्यदलले अध्ययनपछि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पेस गर्नेछन्। यसका लागि मन्त्रालयले कार्यदललाई पाँच दिनको समय दिइएको छ।
जेनजीको प्रदर्शनपछि खुलेको सेयरबजारमा १ सय ६० अंकले नेप्से घटेको थियो। बजारमा लगानीकर्ताको आत्मविश्वास गुमेको भन्दै लगानीकर्ताले नीतिगत सम्बोधन माग गर्दै आएका थिए।
मन्त्रालयले लगानीकर्ताको आत्मविश्वास बढाउनका लागि उक्त कार्यदल गठन गरिएको जनाएको छ ।

२०८२ आश्विन ३, शुक्रबार १५:०३ प्रकाशित
ट्रेन्डिङ समाचार