–मतदाता नामावलीमा नाम नभएका युवालाई पनि समेट्ने प्रयास
काठमाडौ
सरकारले विदेशमा रहेका नेपालीहरुलाई पनि आगामी निर्वाचनमा मतदानमा संलग्न गराउन कानुन संशोधन गर्ने गृहकार्य थालेको छ ।
अध्यादेशबाट कानुन संशोधन गरेर भए पनि मतदानमा सबैलाई अवसर प्रदान गर्ने सरकारको योजना छ । यसको लागि कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका गृहमन्त्री ओमप्रकाश अर्यालले आवश्यक गृहकार्य थालेका हुन् ।
सर्वोच्च अदालतले ७ चैत २०७४ मा विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर दिलाउनू भनी आदेश दिए पनि हालसम्म कार्यान्वयन भएको छैन ।
जेनजी युवा आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गराउने निर्णय गरिसकेको अवस्थामा सो निर्वाचनमा विदेशमा बस्नेहरुलाई पनि भोट हाल्न पाउने गरी कानुन संसोधनको गृहकार्य थालिएको हो ।
यस सम्बन्धमा कानुन तथा गृहमन्त्री अर्यालले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आज छलफल गरी विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको अवसर दिन र उमेर पुगे पनि मतदाता नामावलीमा नाम नभएका युवाहरूलाई पनि समेट्न कानुन संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
छलफलपछि अर्यालले सर्वोच्च अदालतले पनि विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्देशन दिइसकेको बताउँदै त्यसका लागि प्राविधिक कठिनाइ फुकाउने बताए ।
विदेशमा रहेका नेपालीहरूलाई विदेशमै मतदान केन्द्र स्थापना गरेर समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन पाउने वातावरण बनाउन कानुनमा संशोधन गर्ने गृहमन्त्री अर्यालको भनाइ छ ।
उनले भने, ‘बाहिर बस्नु भएकाहरुलाई पनि कि त नेपालमा आएर भोट हाल्नुपर्यो त्यो हो भने मतदाता नामावली जहाँ छ, त्यहीँ गर्ने कुरा, तर सबै नेपालीहरू आउन सक्नुहुन्न । यो यथार्थ हो । त्यसको लागि अब विदेशमै मतदान केन्द्र स्थापना गरेर त्यहीँबाट मतदान गर्न पाउने, खासगरी समानुपातिक निर्वाचन प्रणालीको लागि भन्ने सैद्धान्तिक कुरा एकदम ठीक छ । अदालतले पनि यो कुरा आदेश गरिसक्या छ ।’तर प्रत्यक्षको लागि भने विदेशमा बस्नेहरुले भोट हाल्न पाउने छैनन् । यो कानुन संसोधन भएमा विदेशमा बस्नेहरुले समानुपातिक तर्फबाट भोट हाल्न पाउनेछन् ।
‘यसमा कानुनमा प्राविधिक केही कठिनाइहरु छन् भने त्यो अध्ययन गर्ने र यसैपालिदेखि कहीँ न कहीँबाट सुरु गर्ने भन्ने कुरा छ । यसको लागि कानुनको अध्ययन गर्ने एक किसिमको सहमति भएको छ,’ मन्त्री अर्यालले निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरुसँग भने ।


