तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्ठित विकासशील देशहरूलाई पछाडि पार्न नहुनेमा जोड दिनुभएको छ ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन अन्तर्गत आज ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’सम्बन्धी ‘राउन्ड टेबल’ को सहअध्यक्षता गर्दै उहाँले निष्पक्ष व्यापार शर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाव दिनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले सूचना प्रविधि, उत्पादन र सेवाहरूको व्यापारलाई प्रवर्द्धन गरी क्षेत्रीय एकीकरणलाई बलियो बनाउँदै अर्थपूर्ण साझेदारीलाई बढावा दिन आग्रह गर्नुभयो । विश्वव्यापी व्यापारमा यी देशको हिस्सा दोब्बर गर्ने, सेवा निर्यात विस्तार गर्ने, थप विविध र लचिलो अर्थतन्त्रलाई बढावा दिने प्रतिबद्धता गरी यसलाई पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
व्यापार र ‘ट्रान्जिट’ कोरिडोर विकास गर्न, पूर्वाधारलाई आधुनिकीकरण गर्न, सीमापार व्यापार र लगानी बढाउनका लागि भन्सार प्रक्रिया मिलाउन सामूहिक रूपमा काम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।


