
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलरामठाकुरसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले एक करोड ७५ लाख ६७ हजार रुपैयाँभन्दा बढी रकम बिगो माग दाबी गर्दै उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।
ठाकुसहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का लेखापाल सावित्री गिरी, परिषद्का प्रशासकीय अधिकृत चिरंजीबीराज शर्मा ढुङ्गाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, परिषद्का सवारीचालक विक्की कुमार चौधरी, उपभोक्ता समिति अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बविता देवी साह, ठेकेदार जितेन्द्र कुमार यादव र ठाकुरकी पत्नी इन्दुलेखा कुमारी ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
ठाकुर २०७५ मङ्सिर ५ देखि २०७९ मङ्सिर ४ सम्म परिषद्का कार्यकारी निर्देशक थिए । ठाकुर कार्यकारी निर्देशक रहँदा कोषमा व्यापक भ्रष्टाचार भएको समाचार सार्वजनिक हुने गरेको थियो । सुविधा दुरुपयोग, सरकारी छाप र दस्तखत नै किर्ते गरी ठगी गरेको लगायत आरोप ठाकुरसहितविरुद्ध लागेको थियो ।
बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले २०७९ भदौ २० गते परिषद्मा छापा हानी कागजात नियन्त्रणमा लिएको थियो ।
सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई गत पुस मसान्तमा ललितपुरको भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेको थियो । ठाकुरले बिना प्रक्रिया परिषद्को रकम खर्च गरेको, स्करपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको भन्नेसमेत ब्यहोराको उजुरी अख्तियारमा परेको थियो ।