जेठ १५ का लागि आईजीपी थापाको उच्च सतर्कतामा रहन निर्देशन


काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले आगामी जेठ १५ गतेका लागि सबै प्रहरी इकाइलाई उच्च सतर्कता (हाई अलर्ट) मा रहन निर्देशन दिएका छन्।

आईजीपी थापाले आइतबार नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै हाल राजनीतिक व्यवस्था र संविधानविरोधी गतिविधि चलिरहेका भन्दै ती विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन्।

उनले राजावादी समूहद्वारा घोषित प्रदर्शनलाई मध्यनजर गर्दै कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने र सुरक्षाकर्मीहरू पूर्ण तयारी अवस्थामा रहनुपर्ने स्पष्ट पारे।

‘कानूनको कार्यान्वयन, जनताको सुरक्षा र जनजीवन सहज बनाउनका लागि प्रहरीको भूमिका प्रभावकारी हुनुपर्छ,’ आईजीपी थापाले निर्देशन दिए।

उनले प्रहरी संगठनभित्र देखिएको अनुशासनहीनता तथा कर्मचारीबीचको झगडाप्रति पनि कडा असन्तुष्टि जनाउँदै, सार्वजनिकस्थलमा वरियतामा रहेका अधिकारीले कनिष्ठ कर्मचारीमाथि हातपात गर्नु संगठनकै लागि लज्जास्पद भएको बताए।

थापाको निर्देशनसँगै राजधानी तथा अन्य संवेदनशील क्षेत्रहरूमा सुरक्षा निगरानी कडा बनाइने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ ४, आईतवार १४:५९ प्रकाशित
ट्रेन्डिङ समाचार