सशस्त्र प्रहरीका असई छत्याल सगरमाथा आरोहण गरी झण्डा फहराउन सफल


काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

छत्यालले आइतबार बिहान ९:२० बजे ८ हजार ८४८ दशमलव ८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका हुन्। सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत र वाङ्दी शेर्पाले आरोहणको पुष्टि गरेका छन्।

उनी यसअघि वैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन्। ‘तराई, पहाड, हिमाल – सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल’ भन्ने सन्देश बोकेर छत्याल बैशाख १५ गते सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए।

हाल असई छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण, हलचोकमा कार्यरत छन्।

यो उपलब्धिलाई सशस्त्र प्रहरी बलले संस्था तथा राष्ट्रका लागि गर्वको विषयका रूपमा लिएको छ।

२०८२ जेष्ठ ४, आईतवार १४:५३ प्रकाशित
ट्रेन्डिङ समाचार