
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले हालको विद्युत अवरोधको जिम्मा योजनाविहीन विद्युत सञ्जाल विकास र प्राविधिक कमजोरीलाई दिँदै पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पालामा पनि समस्या रहेको स्पष्ट पारेको छ।
आइतबार पत्रकारहरूसँगको छलफलमा प्राधिकरणले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयमार्फत जारी सूचना अनुसार, प्रि-मनसुन र मनसुनको समयमा हावाहुरी र वर्षाका कारण लाइन ट्रिपिङ हुनु सामान्य प्रक्रिया हो।
प्राधिकरणका अनुसार घिसिङको पालामै लाइन ट्रिपिङ रोक्न तारा प्रधान नेतृत्वको पाँच सदस्यीय समिति बनाइएको थियो, तर सो समितिको प्रतिवेदन न आएको न कार्यान्वयन भएको देखिन्छ।
“समस्या समाधान नभई जनआक्रोश कम गर्न कमिटी बनाउने प्रवृत्ति रहँदै आएको छ,” सूचनामा भनिएको छ।
प्राधिकरणले हालको समस्या लोडसेडिङ नभई पूर्ण रूपमा प्राविधिक भएको स्पष्ट गर्दै सामाजिक सञ्जालमार्फत भ्रम फैलाइँदै आएको आरोप लगाएको छ। साथै, जनप्रतिनिधि र कलाकारसम्म पनि यसमा संलग्न हुनु चिन्ताको विषय भएको बताएको छ।
सूचनामा भनिएको छ, “समस्याको समाधान प्राविधिक ढंगबाट खोजिनुपर्छ, सस्तो लोकप्रियताको पछि नलागी दीर्घकालीन उपायमा लाग्ने नीति लिइएको छ।”