कालिकोट पलाता गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाता गाउँपालिकामा कर्णाली फेरी निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, फेरी निर्माणको काम पूरा नगरी बजेट दुरुपयोग गरिएको उजुरीका आधारमा अनुसन्धानपछि मुद्दा दर्ता गरिएको हो।

आरोपितहरूमा तत्कालीन अध्यक्ष लक्ष्मण बहादुर बम, उपाध्यक्ष दाना न्यौपाने, निमित्त प्रशासकीय अधिकृत राजकुमार बम, वडाध्यक्ष टंकबहादुर बम, इन्जिनियर खडानन्द रिजाल, सबइन्जिनियर विनोदकुमार बम, सहलेखापाल नन्दबहादुर शाही, उपभोक्ता समितिका अध्यक्ष वीरजीत रोकाय, सचिव अंग रोकाय, र कोषाध्यक्ष पदशीना बम छन्।

कर्णाली प्रदेश सरकारबाट घाटाचौर थिर्पुस्थित कर्णाली नदीमा गाडी तार्ने फेरी निर्माणका लागि बजेट विनियोजन गरिएको थियो। तर, काम अधुरो राखेर गैरकानुनी लाभ लिएको आरोपमा उनीहरूमाथि मुद्दा चलाइएको हो।

२०८२ जेष्ठ १, बिहीबार १२:३४ प्रकाशित
ट्रेन्डिङ समाचार