
काभ्रेः देशभरमा ७ सय ५३ स्थानीयतहसहित ७ सय ६१ सरकार छन् प्राय सबैको बेरुजुको चाङ छ । तर, एउटा यस्तो स्थानीय तह छ जसको बेरुजु शून्य छ । त्यो हो काभे्रपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका जसको बेरुजु एक रुपैयाँ पनि छैन अर्थात् शून्य बेरुजु छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा निरन्तर प्रयासबाट शून्य बेरुजु बनाउन सफल भएको बताउँछन ।
‘कर्मचारीलाई सार्वजनिक खरिद ऐन, नियमावली, स्थानीय सार्वजनिक ऐन, नियमावली निरन्तर फलो गर्न लगायौं, उनीहरूलाई यो विषयमा तालिम दियौं, अध्यक्ष जिम्बाले भने, हामीले नीति नियम संगतबाहेक काम नगर्ने भनेर जनप्रतिनिधि र कर्मचारीले सामूहिक प्रतिबद्धता गर्यौं ।’ कुनै दबाब र प्रभावमा होइन योजनाबद्ध रूपमा गरेका कामको मात्रै भुक्तानी गर्ने प्रणाली बसालेको कारणले शून्य बेरुजु भएको उनले बताए ।
‘नियमसंगत फाइलको मात्रै अगाडि बढायौं, नियम संगत नभएका कामलाई तुरुन्तै नियन्त्रणमा लिने काम गर्यौं, यसको फलस्वरूप हामी शून्य बेरुजु हुन सफल भयौ,’ उनले भने । गत वर्ष महाभारतसहित पाँचवटा स्थानीय तहको शून्य बेरुजु थियो तर योपटक भने अरुले शून्य बेरुजुलाई कायम राख्न सकेनन् गत वर्ष ताप्लेजुङको पाथिभरा याङवर गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा पनि बेरुजु शून्य थियो ।