महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डे अनिवार्य अवकाशमा, दुई सचिव पद रिक्त


काठमाडौँ। नेपाल सरकारका महालेखा नियन्त्रक (सचिव) गणेशप्रसाद पाण्डे अनिवार्य अवकाशमा गएका छन्। ५८ वर्षे सेवा उमेर हद पुगेका कारण सोमबारदेखि उनी सरकारी सेवा जीवनबाट विदा भएका हुन्।

वि.सं. २०७८ साल असार १७ गते सचिवमा बढुवा भएका पाण्डेले करिब चार वर्ष विशिष्ट श्रेणी (सचिव)मा कार्य गरे। न्याय, संसद् हुँदै प्रशासन सेवामा प्रवेश गरेका पाण्डे २०५१ साल चैतमा सरकारी सेवामा प्रवेश गरेका थिए।

उनको तीन दशकभन्दा बढी लामो सेवाकालमा पाण्डेले कर्णाली प्रदेशको प्रदेश प्रमुख सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका जिम्मेवारी सम्हालेका थिए।

उनको अवकाशसँगै हाल दुई सचिव पद रिक्त भएका छन्। यसअघि वैशाख २४ गते सचिव विनोदप्रकाश सिंह पनि अनिवार्य अवकाशमा गएका थिए, जसले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव पद खाली बनाएको छ।

सरकारले दुवै रिक्त सचिव पदमा छिट्टै नयाँ नियुक्ति गर्ने अपेक्षा गरिएको छ।

 

२०८२ बैशाख ३१, बुधबार १०:४६ प्रकाशित
ट्रेन्डिङ समाचार