
काठमाडौँ। नेपाल शिक्षक महासंघले आन्दोलनका कारण २९ दिनसम्म ठप्प भएको पठनपाठनको क्षति पूर्तिका लागि हिउँदे वा बर्खे बिदाको समय उपयोग गर्न विद्यालयहरूलाई आग्रह गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा महासंघले माघ २० देखि सुरु भएको ८९ दिन लामो शिक्षक–कर्मचारी आन्दोलन अन्तर्गत काठमाडौं केन्द्रित २९ दिनको शैक्षिक हड्तालका कारण भर्ना र पढाइमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै शैक्षिक क्षति पूर्तिको पहल गर्न अनुरोध गरेको हो।
‘विद्यार्थीको सिकाइमा परेको असर न्यूनीकरण गर्न सबै प्रधानाध्यापक र शिक्षक–कर्मचारीहरूलाई हिउँदे वा वर्षे बिदामा क्षतिपूर्ति गर्न महासंघले अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
महासंघका अनुसार आन्दोलनको दौरान सरकारले विगतमा सहमति भई कार्यान्वयनमा नआएका विषयहरू मन्त्रिपरिषद्को निर्णयमार्फत कार्यान्वयन गराएको छ।
आगामी असार १५ भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित हुने सुनिश्चितता भएकोले आन्दोलनलाई सफल र उपलब्धिमूलक ठहर गरिएको जनाइएको छ।