
काठमाडौँ । भारत–पाकिस्तानबीच चुलिंदो तनावका कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूलाई समस्या पर्न सक्ने भन्दै परराष्ट्र मन्त्रालयले इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क राख्न आग्रह गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकहरूको सुरक्षा तथा हितमा नेपाल सरकार पूर्णरूपमा सजग रहेको स्पष्ट पारेको छ।
‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध छ,’ विज्ञप्तमा उल्लेख गरिएको छ, ‘पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक सहयोग गरिरहेको छ।’
मन्त्रालयले इस्लामावादस्थित दूतावासमा वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुदलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको जानकारी दिँदै आपत्कालीन अवस्थामा जुनसुकै समयमा सम्पर्क गर्न सकिने जनाएको छ।
भारतको पहलगाम क्षेत्रमा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको घटनापछि भारतले आक्रोशस्वरूप कडा प्रतिआक्रण थालेको छ। त्यसको जबाफस्वरूप पाकिस्तानले पनि कारबाही थालेपछि सीमावर्ती क्षेत्रमा तनाव चुलिएको हो।