
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतमा आठ वर्षभन्दा पुराना मुद्दा असार मसान्तभित्र शून्य बनाउने लक्ष्यमा उल्लेख्य सफलता हासिल हुँदै गएको बताएका छन्।
७३औँ कानुन दिवसको अवसरमा सर्वोच्च अदालतमा आयोजित चियापान समारोहमा बोल्दै प्रधानन्यायाधीश राउतले २०८३ असार मसान्तभित्र पाँच वर्ष पुराना मुद्दा पनि समाप्त गर्ने लक्ष्यतर्फ न्यायपालिकाले ठोस प्रगति गरेको उल्लेख गरे।
उनका अनुसार पछिल्ला तीन वर्षमा अदालतको समग्र मुद्दा फछ्र्यौट दरमा संख्यात्मक वृद्धि देखिएको छ, जसले पुराना मुद्दाहरूको बोझ उल्लेख्य रूपमा घटाएको छ। साथै, उच्च अदालत र जिल्ला अदालतहरूमा दुई वर्ष नाघेका मुद्दा शून्य बनाउने तथा कुनै पनि मुद्दा १८ महिनाभन्दा बढी लम्बिन नदिने लक्ष्यमा पनि सकारात्मक उपलब्धि हासिल भएको तथ्याङ्कहरूले देखाएको छ।
राउतले २०८१ साल साउन १ गतेदेखि लागू भएको पाँचौं पञ्चवर्षीय रणनीतिक योजनाले न्याय सम्पादनलाई प्रभावकारी बनाउने, न्यायमा पहुँच अभिवृद्धि गर्ने र सुशासन प्रवर्द्धन गर्ने लक्ष्यमा आधारित भएर काम भइरहेको जानकारी दिए।
उनले काठमाडौं उपत्यकाभित्र उपभोक्ता अदालत तथा बाल अदालतको स्थापना, भारत र बेलायत भ्रमणमार्फत न्यायपालिकाबीच अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा उपलब्धि हासिल भएको पनि बताए।
सर्वोच्च अदालत र देशभरका न्यायालयहरूले वार्षिक कार्ययोजना निर्माण गरी न्यायिक सेवा सुधारतर्फ क्रियाशील रहेको उनको भनाइ थियो।