गभर्नर नियुक्तिको आशाले सेयर बजारमा सुधार, साताभर ५५ खर्ब रुपैयाँको कारोबार


काठमाडौँ।  नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावनाले सेयर बजारमा आशाजनक सुधार देखिएको छ। लगातार तीन सातादेखि नकारात्मक दिशामा रहेको बजारले यो साता केही सुधार देखाएको हो।

नेप्से परिसूचकले साता भरमा तीन दिन गिरावट भोगे पनि बुधबारको ६२.२५ अंकको उचालोले साप्ताहिक समग्र सुधार सुनिश्चित गर्‍यो। अन्तिम दिन बिहीबार बजार फेरि १२.०४ अंकले घट्यो। सातामा कुल कारोबार रकम ५५ खर्ब ६६ करोड रुपैयाँ पुगेको छ। नेप्से अनुसार, १२ करोड ६६ लाख कित्ता सेयर ४ लाख ९९ हजार पटक कारोबार भएका छन्।

बजारमा ८२.५९ अंकको उतारचढाव देखिएको छ। साता भरमा परिसूचक न्यूनतम २६०४.७९ र अधिकतम २६८७.३८ अंकमा पुगेको थियो।

१३ वटा सूचकहरूमध्ये ११ सूचक बढेका छन् भने दुई घटेका छन्। फाइनान्स समूह सबैभन्दा धेरै, ६.१३ प्रतिशतले उकालो लाग्दा हाइड्रोपावर ४.४७, निर्जीवन बीमा ३.३८ र जीवन बीमा २.१९ प्रतिशतले वृद्धि भएको देखिएको छ। बैंकिङ, होटल तथा पर्यटन, उत्पादनमूलक र माइक्रोफाइनान्स समूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

बजार विश्लेषकहरूले पछिल्लो दिनको क्यान्डल विश्लेषण गर्दै बजारले अल्पकालीन बाउन्स वा रिभर्सल संकेत दिएको बताएका छन्। हाल २६८०–२७०० अवरोध स्तर र २५८०–२६०० टेवा स्तरका रूपमा चिनिएको छ।

राजनीतिक अन्योलका कारण गभर्नर नियुक्तिको प्रक्रिया लम्बिन जाँदा अन्तिम दिन बजारमा फेरि गिरावट आएको हो। लगानीकर्ता भने सरकारको आर्थिक नीति र राष्ट्र बैंकको नेतृत्व स्पष्ट भएपछि बजार अझ स्थिर हुने अपेक्षामा छन्।

 

२०८२ बैशाख २६, शुक्रबार १६:५५ प्रकाशित
ट्रेन्डिङ समाचार