धितोपत्र बोर्डका ८९ फाइल अख्तियारको नियन्त्रणमा : आइपिओमा कमिसन माग प्रकरण


काठमाडौँ ।जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आइपिओ) प्रक्रियामा कमिसन मागिएको आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डमाथि अनुसन्धान अघि बढाएको छ।

बुधबार आयोगले बोर्डको कार्यालयमा छापा मार्दै आइपिओ प्रक्रियामा रहेका ८९ कम्पनीका फाइल नियन्त्रणमा लिएको छ। बोर्ड स्रोतका अनुसार दिउँसो अख्तियार टोली कार्यालय पुगेपछि सम्बन्धित सबै फाइल संकलन गरी अनुसन्धान प्रारम्भ गरिएको हो।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले बोर्डले आइपिओ प्रवर्द्धकहरूबाट प्रारम्भमा ३ प्रतिशत र पछिल्लो समय ५–७ प्रतिशतसम्म कमिसन माग गरेको दाबी गरेका थिए।

प्रवर्द्धकहरूले आइपिओ स्वीकृति प्रक्रिया २२ महिनादेखि रोकिएको र त्यसैको बहानामा बोर्डले कमिसन माग गर्दै आएको आरोप सार्वजनिक गरेका छन्। यो विषय संसद्मा समेत उठिसकेको छ।

२०८२ बैशाख २५, बिहीबार १२:२६ प्रकाशित
ट्रेन्डिङ समाचार