फेटा गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता


काठमाडौँ । बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकरकुमार सिंहसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसँगै लेखा अधिकृत मुकेशप्रसाद साह र नेपाल मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक नवराज निरौलामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

तीनै जनाले स्थानीय तहमा विद्युत पोल गाड्ने र तार तान्ने कार्यको ठेक्का प्रक्रियामा अनियमितता गरेको अख्तियारको दाबी छ। सार्वजनिक खरिद ऐनको उल्लङ्घन गर्दै सूचना गोप्य राखी झुटा विवरणसहितको बिल प्रस्तुत गरी १ लाख ४२ हजार १६० रुपैयाँ भुक्तानी गरेको प्रमाणित भएपछि कारबाही प्रक्रिया अघि बढाइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

आयोगले भ्रष्टाचार निवारण ऐन अनुसार दोषी ठहर गरी कैद र जरिवानाको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

 

२०८२ बैशाख २४, बुधबार ११:२५ प्रकाशित
ट्रेन्डिङ समाचार