शेष घलेविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश


काठमाडौँ। सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उच्चस्तरीय समिति अध्यक्ष शेष घलेविरुद्ध अदालतको अवहेलना मुद्दामा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ।

आइतबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले घलेलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।

उपाध्यक्ष रोजिना प्रधान राई, सचिव राधिका गुरुङ र सह(कोषाध्यक्ष कृष्ण तिमल्सेनाले घलेविरुद्ध वैशाख १४ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। उनीहरूले घलेले अदालतको वैधता दिएपछि पनि महाधिवेशन अवैधानिक भनेको आरोप लगाएका छन्।

सर्वोच्चले साउन २०८१ मा एनआरएनएको ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैध ठहर गरेको थियो। तर घलेले चैत १७ गते प्रेस विज्ञप्ति जारी गर्दै उक्त महाधिवेशनलाई अवैधानिक भनेका थिए। सोही अभिव्यक्तिले अदालतको निर्णयको अवहेलना गरेको दाबी गर्दै मुद्दा दायर गरिएको हो।

अब शेष घलेले अदालतमा पेश हुने र आफ्नो पक्षमा जवाफ दिने कानुनी प्रक्रिया अघि बढ्नेछ।

२०८२ बैशाख २१, आईतवार १६:२४ प्रकाशित
ट्रेन्डिङ समाचार