कर्मचारी सरुवामा सामान्यको मनपरी: १३ दिनमै फेरिए प्रमुख प्रशासकीय अधिकृत, गुपचुपमा थमौती भइन् महानिर्देशक


मन्त्रालयले जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार मिश्रलाई हाजिर भएको १३ दिनमै सरुवा गरेको छ । मिश्रलाई २०८१ फागुन १२ गतेको निर्णयअनुसार उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको थियो ।हेर्नुहोस् सहसचिव वीरेन्द्र कुमार मिश्रलाई प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको पत्र

तर, उनी ४४ दिनपछि चैत्र २७ गते मात्र हाजिर भए । हाजिर भएको दुई हप्ता नपुग्दै मंगलबार सरुवा गरिएका ४७ सहसचिवको सूचीमा मिश्र ३० औँ नम्बरमा परेका छन् ।

हेर्नुहोस् पछिल्लो मन्त्रिपरिषद् बैठकले वीरेन्द्र कुमार मिश्रलाई सुदूर पश्चिम प्रदेश पठाएको पत्र 

उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले मिश्रको छोटो अवधिमै भएको सरुवाले पालिकाको काममा गम्भीर असर परेको बताए । मन्त्रालयको मनपरी सरुवा प्रक्रियाले समस्या निम्त्याएको उनको गुनासो छ । साहका अनुसार, आफू निर्वाचित भएयता पहिलो पटक मन्त्रालयले दरबन्दीअनुसार कर्मचारी पठाएको थियो । मिश्रभन्दा अघि उपसचिव राजकुमार केसीले पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

सूचीमै चलखेल सरुवा निर्णयमा मात्र होइन, सरुवाका लागि तयार पारिएको सूचीमै चलखेल हुने गरेको छ । प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार, पछिल्लो ४७ सहसचिवको सरुवामा करिब दर्जन सहसचिवको प्रस्तावित सूचीमा फेरबदल भएको छ । सूची एक पटक होइन, पटक–पटक परिवर्तन गरिएको छ । यसमा विभिन्न ‘फ्याक्टर’ले भूमिका खेलेको पाइएको छ । खासगरी, दुई महानिर्देशकको सरुवालाई कर्मचारीहरूले विशेष रूपमा हेरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी (भट्ट) को सरुवा सूची फेरबदलकै क्रममा परिवर्तन भएको हो । फागुन ११ गते ७८ सहसचिवको सरुवा हुँदा कर्णलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी खटाइएको थियो ।

तर, हालैको ४७ सहसचिवको सरुवा सूचीमा उनी पुनः कृषि तथा पशुपन्छी विकास मन्त्रालयमै थमौती भए । अन्य कर्मचारीका लागि लागू हुने पाँच वा सात दिने रमाना लिनुपर्ने प्रावधान कर्णको हकमा कार्यान्वयन भएन । ५९ दिनमै सरकारको निर्णय उल्टाएर उनलाई प्रदेश नजानुपर्ने गरी सूचीमा राखियो ।

यसैगरी, नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी (भट्ट) लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा प्रस्ताव गरिएको थियो । तर, ‘बिचौलिया’ हरूको विशेष निगरानीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चक्कर काटेपछि सूचीमा उथलपुथल भयो । सूची सार्वजनिक गर्न हप्तौँ लाग्नुको पछाडि नियमित प्रक्रियामा हुने सरुवामा कसरी ‘चलखेल’ र ‘फेरबदल’ हुन्छ भन्ने प्रष्ट हुन्छ ।

यी दुई वटा त प्रतिनिधि उदाहरण मात्रै हुन्, सूचीमा नाम राखेरै हटाउने र पठाउने नाममासमेत ‘बार्गेनिङ’ हुने गरेको स्वयं पीडित कर्मचारीहरूको गुनासो छ ।

सिंहदरबार विशेष स्रोतका अनुसार, केही बिचौलियाले कर्मचारी सरुवाको ठेक्का नै लिएर चलखेल गर्ने गरेका छन् । यी बिचौलिया बिहानै मन्त्री निवासमा भेटिन्छन् र सिंहदरबार नपसी क्याफे वा रेस्टुरेन्टमा बसेर तयार गरेको सूची बाहिरैबाट सदर गराउँछन् ।

कर्मचारी सरुवामा देखिएको मनपरी र चलखेलले प्रशासनिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ । मन्त्रालयको यो कार्यशैलीले स्थानीय तहदेखि संघीय निकायसम्म प्रभावकारी सेवा प्रवाहमा अवरोध पुगेको छ । सुशासन ल्याउने हो भने व्यवहारबाट स–साना निर्णयहरूमा निष्पक्षता र पारदर्शिता दर्साउन जरुरी छ।

२०८२ बैशाख १२, शुक्रबार १५:५७ प्रकाशित
ट्रेन्डिङ समाचार