
पहिलो मागमा साहले मन्त्री यादवले आफ्ना निकट व्यक्ति एजाज बाबु राँकीमार्फत ७ करोडको डिप बोरिङलगायतका कार्यमा व्यक्तिगत लाभ लिएको आरोप लगाएका छन् । उनले यो विषयमा सत्य तथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न अनुरोध गरेका छन् । दोस्रो, जनकपुर आयोजनाको उपलब्धि र आगामी बजेटको लक्ष्य सुनिश्चित गर्न आफूलाई इन्जिनियरको हैसियतमा तत्काल पुनर्बहाली गर्न माग गरेका छन् । तेस्रो, खानेपानी क्षेत्रमा व्यक्तिगत स्वार्थको हस्तक्षेप रोक्न मन्त्री यादवलाई निलम्बन गरी उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न र दोषी ठहरिएकालाई कानुनअनुसार कारबाही गर्न जोड दिएका छन् । उनले मन्त्रीले आफूविरुद्ध नक्कली प्रमाण बनाउन वा प्रमाण नष्ट गर्न सक्ने सम्भावना रहेको भन्दै तत्काल निलम्बनको आवश्यकता औँल्याएका छन्। चौथो मागमा साहले आफ्नो १२ वर्षे निजामती सेवाको इमानदारी र जन्मस्थान महोत्तरीको बलवा नगरपालिका भएको आधारमा मधेस प्रदेशको सेवामा योगदान गर्न इच्छुक रहेको बताएका छन् । उनले यो मामिला व्यक्तिगत सरुवा मात्र नभई जनकपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका सहरी तथा ग्रामीण जनताको खानेपानी पहुँच र समग्र विकाससँग जोडिएको उल्लेख गरेका छन् । तराईमा भूजलको सतह घट्दै गएको सन्दर्भ जोड्दै उनले तत्काल विधिसम्मत निर्णय गरी सार्वजनिक सेवाको निरन्तरता र पारदर्शिता कायम राख्न आग्रह गरेका छन् । उजुरीसँगै आवश्यक कागजात पनि पेश गरिएको उनले जनाएका छन् । यो उजुरीले खानेपानी मन्त्रालयको कार्यशैली र मन्त्री यादवको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । पछिल्लो समय जनकपुर विवादबाट खानेपानी मन्त्रालय अन्तर्गत के कसरी कामहरू भई रहेको छ भन्ने तथ्य उजागरसमेत भएको छ ।