आइतबारदेखि विद्यालय अनिवार्य सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह


काठमाडौँ। नवलपुरको हुप्सेकोट गाउँपालिकाले विगत तीन हप्तादेखि स्थगित रहेका विद्यालयहरू आइतबार (वैशाख १४)देखि अनिवार्य रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।

गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै शिक्षक आन्दोलन अझै केही समय लम्बिन सक्ने भन्दै नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना र नियमित पठनपाठन सुरु गर्न आग्रह गरेको हो।

गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “शिक्षक तथा विद्यालय कर्मचारीहरूको मागलाई सम्बोधन गर्न सरकार संसद अधिवेशनमार्फत विधेयक प्रक्रिया अगाडि बढाउँदैछ। तर, प्रक्रिया पूर्ण हुन केही समय लाग्ने भएकाले तत्कालै शिक्षा सञ्चालन गर्नु आवश्यक छ।”

सार्वजनिक सूचनामा थप भनिएको छ कि शिक्षा ऐन, २०७५ अनुसार शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउनु राज्यको कर्तव्य हो, र नयाँ शैक्षिक सत्रको दुई साता बितिसक्दा समेत कक्षा सञ्चालन नभएकोप्रति अभिभावक र विद्यार्थीहरूको गुनासो बढ्दो छ।

गाउँपालिकाले सम्पूर्ण प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीहरूलाई आइतबारदेखि अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ भने विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयहरूलाई आवश्यक अनुगमन गर्न पनि अनुरोध गरेको छ।

२०८२ बैशाख ११, बिहीबार १४:४८ प्रकाशित
ट्रेन्डिङ समाचार