काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङ्देनलाई सिंहदरबारभित्रैबाट प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा रहेका बेला उनलाई नियन्त्रणमा लिइएको हो।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार प्रहरीको ठूलो टोली संसद भवन परिसरमा प्रवेश गरी छलफलमा रहेका लिङ्देन र अन्य सांसदहरूलाई कार्यालयमै घेराबन्दी गरेको थियो। उनले घटनालाई “बन्दी बनाउने कार्य” भन्दै आपत्ति जनाए।
सूत्रहरूका अनुसार राप्रपाका नेताहरू सिंहदरबारभित्र पर्चा र पम्प्लेट बाँड्दै विरोध प्रदर्शनको तयारीमा थिए। उनीहरू मुख्य गेटतर्फ निस्कन खोज्दा लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
यस घटनापछि सिंहदरबार परिसरमै राप्रपाका अन्य नेताहरूले विरोध प्रदर्शन गरिरहेका छन्। पार्टीका सांसदहरूले लिङ्देनको गिरफ्तारीलाई असंवैधानिक र दमनकारी भन्दै तत्काल रिहाइको माग गरेका छन्।
घटनासम्बन्धी सरकार पक्ष वा सुरक्षा निकायबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।


