
काठमाडौँ । काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्मको मुख्य सडकमा गरिएको सवारी साधन डाइभर्सनका कारण करिडोर क्षेत्रहरू अस्तव्यस्त भएका छन्। ट्राफिक व्यवस्थापनका लागि महानगर ट्राफिक प्रहरीले मुख्य मार्गबाट सवारीहरूलाई वैकल्पिक मार्गतर्फ डाइभर्ट गरेपछि विभिन्न चोकहरूमा सवारीको चाप अत्यधिक देखिएको छ।
विशेषतः बानेश्वर बिजुली बजार हुँदै चल्ने सवारीहरूलाई सिनामंगल, तीनकुने, थापाथली, माइतीघर, रणोदिप, कृष्णपाउरोटी लगायत स्थानहरूमा मोडिएको छ। यसले गर्दा कोटेश्वर, गौशाला, गौरीघाट, मित्रपार्क, चाबहिल, सोह्रखुट्टे, लैनचौर, त्रिपुरेश्वर र कुपण्डोल जस्ता क्षेत्रमा लामो ट्राफिक जाम देखिएको छ।
सवारी साधनहरूको संख्या अत्यधिक बढ्नु र डाइभर्सन प्रणाली एकसाथ लागू गर्दा यात्रुहरूलाई गन्तव्यसम्म पुग्न घण्टौं लाग्ने अवस्था छ। ट्राफिक प्रहरी विभिन्न स्थानहरूमा खटिएर ट्राफिक सहज बनाउन प्रयासरत छन् भने मुख्य चोकहरूमा केही समय सवारी रोक्नु परेको पनि प्रहरी स्रोतले जनाएको छ।
नियमित र आकस्मिक यात्राका लागि निस्कन लागेकाहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न तथा आवश्यक परे यात्रा तालिकामा फेरबदल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।