
काठमाडौँ। नेपाल बार एसोसिएसनमा प्रा. डा. विजयकान्त मिश्रको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ। आज आयोजित वार्षिक साधारण सभा तथा पदहस्तान्तरण समारोहमार्फत पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको कार्यसमितिबाट नयाँ टोलीले जिम्मेवारी ग्रहण गरेको हो।
गत चैत २३ गते सम्पन्न निर्वाचनमा मिश्र नेतृत्वको लोकतान्त्रिक, प्रगतिशील, राष्ट्रवादी समूह विजयी भएको थियो। प्रतिस्पर्धामा व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ उम्मेदवार थिए। निर्वाचनले २५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।
कार्यक्रममा अध्यक्ष मिश्रले नेपाल बारलाई राजनीति प्रभावबाट मुक्त राख्ने, पारदर्शी र नतिजामूलक संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनले घोषणा पत्रमाउल्लेख गरिएका बुँदाहरू कार्यान्वयनमा ल्याउने र वकिलहरूको पेसागत हितका लागि दृढतापूर्वक लाग्ने बताए।
उनकै प्रतिस्पर्धी श्रेष्ठले पनि बारको गतिविधिमा राजनीतिक हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट पारे। उनले वकिलका हकहित र न्यायालयप्रति उठ्ने प्रश्नहरूमा स्वतन्त्र रूपमा निष्कर्ष निकाल्नुपर्ने धारणा राखे।