
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपाल राजभण्डारीविरुद्ध ८० लाख ५२ हजार रुपैयाँ बराबरको भ्रष्टाचार अभियोगमा विशेष अदालतले दिएको फैसलाले आयोगलाई चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको हो। विशेषले उक्त मुद्दामा २०८१ सालको वैशाख २४ गते फैसला सुनाएको थियो।
त्यस्तै, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त प्रमुख नीलकण्ठ पोखरेलसहितका प्रतिवादीविरुद्ध २८ लाख ३७ हजार रुपैयाँ बराबरको भ्रष्टाचार आरोपमा जेठ २० मा विशेष अदालतले गरेको फैसलाविरुद्ध पनि पुनरावेदन गरिएको छ।
यसैगरी, कालिकोटको महावै गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहितका प्रतिवादीविरुद्धको मुद्दामा ३८ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गर्दै दायर गरिएको मुद्दामा भदौ १ गते विशेष अदालतले सुनाएको फैसलाविरुद्ध पनि आयोग सर्वोच्च पुगेको छ।
अख्तियारले सबै मुद्दामा विशेष अदालतको निर्णयले न्याय नपुगेको ठहर गर्दै पुनरावेदन गरेको हो।