
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। गभर्नर बन्ने दौडमा रहेका भट्टले राजनीतिक सहमतिको आधारमा गभर्नर नियुक्तिको सम्भावना बलियो बनेपछि राजीनामा दिएका हुन्।
भट्टले शुक्रबार राजीनामा बुझाएका हुन्। उनले भने, “गभर्नर बन्न कार्यकारी निर्देशक पदबाट राजीनामा दिन आवश्यक भएकाले आज पदबाट राजीनामा दिएको हुँ।”
गभर्नर नियुक्ति प्रक्रियालाई लिएर कानुनी अन्योलता देखिए पनि राजनीतिक तहमा सहमति बनेसँगै भट्टको सम्भावना बलियो बनेको छ। नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारी अनुसार राष्ट्र बैंकको गभर्नर पद कांग्रेसले पाउने सहमति भएपछि भट्टले कदम चालेका हुन्।
यसअघि अर्का कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले पनि गभर्नर पदको दौडमा सहभागिता जनाउन राजीनामा दिएका थिए। यद्यपि, दुवै जनाको राजीनामा अहिलेसम्म स्वीकृत भइसकेको छैन।
अब मन्त्रिपरिषद्को बैठकबाट नयाँ गभर्नरको टुंगो लाग्ने अपेक्षा गरिएको छ।