
काठमाडौँ । नेपाली सेयर बजारमा मंगलबार उल्लेखनीय सुधार देखिएको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक २७.१४ अंकले उकालो लागेर २६८९.२२ बिन्दुमा पुगेको छ।
यसदिन कारोबार रकम समेत उल्लेख्यरूपमा बढेको छ। आइतबार ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार उक्त रकम बढेर ८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो। कुल ३२० वटा धितोपत्रको दुई करोड १८ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।
कुल २१२ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने ३४ कम्पनीको मूल्य घटेको छ। विशेषगरी पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतको सर्किट लेभलसम्म पुगेको छ। ती कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स छन्।
अर्कोतर्फ, बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.६९ प्रतिशतले घटेको छ भने विन नेपाल लघुवित्तको मूल्य ६.१७ प्रतिशतले घटेको देखिएको छ।
मंगलबारको सर्वाधिक कारोबार बलेफी हाइड्रोपावरमा भएको हो, जसमा दुई अर्बभन्दा बढीको सेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्टक्चर दोस्रो स्थानमा रह्यो, जसको ४२ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।