सरकार भर्ना अभियानको तयारीमा, शिक्षकहरू हड्तालमा


काठमाडौँ । सरकारले २०८२ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको भर्ना अभियानको तयारी गर्दैछ, तर शिक्षकहरूको आन्दोलनका कारण अभियान प्रभावित हुन सक्ने संभावना रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्ना अभियानको लागि योजना तयार गरेर शिक्षा र मानव स्रोत विकास केन्द्रमा पठाइसकेको छ।

तर, शिक्षक महासंघले चैत २५ देखि आम शैक्षिक हड्तालको घोषणा गरिसकेको छ। यदि शिक्षकहरूको हड्ताल जारी रहन्छ भने, आगामी शैक्षिक सत्रको भर्ना अभियानमा असर पर्न सक्ने बताइएको छ।

शिक्षा केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीका अनुसार, भर्ना अभियान, निःशुल्क पाठ्यपुस्तक वितरण, छात्रवृत्ति र प्रारम्भिक बालविकासका कार्यक्रमहरू तयारी अवस्थामा छन्। उनले भने, “शिक्षकहरूले जिम्मेवारी बुझेर सहमति दिने विश्वास छ। संसदमा विधेयक अगाडि बढेको छ र प्रधानमन्त्री र मन्त्रीहरूले चासो देखाएका छन्।”

शिक्षक महासंघले भने, यदि वैशाख महिनाभित्र सहमति नभए भने, ७० लाख भन्दा बढी बालबालिकाको पढाइ प्रभावित हुने डर व्यक्त गरेको छ।

२०८१ चैत्र २४, आईतवार १३:१५ प्रकाशित
ट्रेन्डिङ समाचार