काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङले जनताको घरमा बिजुली पुर्याउनु नै आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन्।
शुक्रबार (चैत २२) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको बताए। उनले आफ्नो काम, कर्तव्य र अभिभारा कहिल्यै कम नहुने कुरा उल्लेख गरे।
कुलमानले बर्खास्तीलाई राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही र अपमानित बनाउने कार्यका रूपमा टिप्पणी गरे। उनले भने, “नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक पूरा गर्ने क्रममा खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही एवम् अपमानित बनाउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्। तर, नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन।”
उनले प्राधिकरणको विद्युतीकरण कार्यका बाबत भने, “सरकारले बजेट नै नदिएको अवस्थामा पनि प्राधिकरणले आफ्नै स्रोतसाधनबाट विद्युतीकरणको काम गरिरहेको छ।”
कुलमानले आफ्नो कार्यकालको दौरान, गाउँबस्तीको विद्युतीकरण मात्र होइन, स्मार्ट सडक बत्ती विस्तारमा पनि ठूलो लगानी गरिएको बताए। “जनतालाई उज्यालो दिनु नै राष्ट्रहितविपरीतको अपराध हो?” उनले प्रश्न गरे।


