ADVERTISEMENT

लोकसेवाबाट आएकाबाहेक सबै नियुक्ति फेर्न प्रधानमन्त्रीको प्रस्ताव


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनसँगै लोकसेवा आयोगको भर्ना प्रक्रिया पूरा भएर गरिने बाहेकका सबै नियुक्ति स्वतः फेरिने व्यवस्था प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे विपक्षी दलहरूले सरकारसँग जवाफ मागेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीबारे गरेको निर्णयलाई लिएर संसदकै काम(कारबाही प्रभावित गरिनु उचित नरहेको बताए ।

बरु सरकार फेरिएसँगै लोकसेवा पास गरेर भर्ना हुनेबाहेक सबै नियुक्ति स्वतः फेरिने कानुनी व्यवस्था गर्नु उचित हुने प्रस्ताव गरे ।

सल्लाहकारदेखि, महान्यायाधिवक्ता र राष्ट्रिय योजना आयोगसम्म अहिले पनि प्रधानमन्त्री फेरिँदा स्वतः फेरिने व्यवस्था रहेको उनले स्मरण गरे । ‘बाँकीको हकमा पनि यस्तै व्यवस्था अवलम्बन गरौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रचलित व्यवस्थाअनुसार संघीय लोकसेवा र प्रदेश लोकसेवा आयोगबाट कर्मचारी भर्ना प्रक्रिया पूरा गरेर कर्मचारी सेवामा प्रवेश गर्छन् । सरकार, विभिन्न कार्यालय, संस्थान, निकाय आदिले करारमा समेत कर्मचारी लिन्छन् ।

संवैधानिक परिषद्बाट संवैधानिक नियुक्ति प्रक्रिया अगाडि बढ्ने प्रक्रिया पनि छ । जसमा प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी हुन्छन् ।

संवैधानिक आयोगअन्तर्गत १३ वटा आयोग छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग छन् ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोगका प्रमुख एवं पदाधिकारीहरू पनि संवैधानिक परिषद्बाट नियुक्ति प्रक्रिया अगाडि बढ्छ ।

यदि प्रधानमन्त्रीले भने जस्तो लोकसेवाको प्रक्रिया बाहेकका सबै नियुक्ति सरकारसँगै फेर्ने हो भने यी सबै निकायका प्रमुख एवं पदाधिकारीसमेत फेरिनेछन् ।

प्रधानमन्त्रीले भने जस्तो लोकसेवाको प्रक्रिया बाहेकका सबै नियुक्ति सरकारसँगै फेर्ने हो भने थुप्रै निकायका प्रमुख एवं पदाधिकारीसमेत फेरिनेछन् ।

सरकारले विभिन्न देशका राजदूतको नियुक्ति प्रक्रिया अगाडि बढाउँछ । राजदूतको हकका सरकार फेरिँदा फेर्ने अभ्यास छ । तर सरकार फेरिएपिच्छे राजदूत फेर्दा त्यसको कूटनीतिक क्षेत्रमा असर पर्ने गरेको भनेर संसदमा बहस हुने गरेको छ ।

विश्वविद्यालयका पदाधिकारीहरू पनि राजनीतिक प्रक्रिया अन्तर्गत नियुक्त हुन्छन् । मन्त्रालयपिच्छे लोकसेवा आयोगको प्रक्रिया पूरा नगरी नियुक्त हुने निकायहरू पनि छन् ।

परराष्ट्र मन्त्रालयअन्तर्गत राजनीतिक नियुक्ति हुने निकाय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान छ, जहाँ निर्देशक र उपनिर्देशक हुन्छन् । राजदूत पनि परराष्ट्र मन्त्रालयअन्तर्गत नै पर्छ ।

ऊर्जा मन्त्रालयअन्तर्गत राजनीतिक नियुक्ति हुने निकायमा नेपाल विद्युत् प्राधिकरण पर्छ । यही निकायका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे उठेको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकार फेरिएपछि लोकसेवाको प्रक्रिया बाहेकका सबै नियुक्ति स्वतः फेरिने प्रस्ताव राखेका हुन् ।

अर्थ र उद्योग मन्त्रालय सार्वजनिक संस्थानहरू छन् । दुग्ध विकास बोर्ड, चिया तथा कफी विकास बोर्डमा सरकारले नियुक्ति गर्छ ।

वित्तीय संस्थाहरूअन्तर्गत बीमा समितिमा सरकारले नियुक्त गर्छ । कृषि विकास बैंक, बीमा संस्थानमा पनि प्रमुख एवं पदाधिकारी सरकारले नै नियुक्त गर्छ ।

उद्योगअन्तर्गतका हेटौंडा सिमेन्ट, उदयपुर सिमेन्ट, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा अध्यक्ष एवं महाप्रबन्धक सरकारले नियुक्त गर्छ ।

वन मन्त्रालय राष्ट्रिय प्रकृति संरक्षण कोष, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र छन् । जसमा सरकारी नियुक्ति पाएका व्यक्ति प्रमुख रहन्छन् ।

सञ्चार मन्त्रालयअन्तर्गत राष्ट्रिय समाचार समिति, सार्वजनिक सेवा प्रसारण संस्था, चलचित्र विकास बोर्ड, गोरखापत्र संस्थान, दूरसञ्चार प्राधिकरण छन्, जसको नेतृत्व र बोर्ड सदस्य तथा पदाधिकारी लोकसेवा आयोगको प्रक्रियाबाट नियुक्त हुन्छन् ।

सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल संसद भएको तर, कर्मचारीको सरुवा र बढुवाको विषय पनि संसदमा ल्याउने विषय उचित नरहेको बताउने क्रममा प्रधानमन्त्रीले फरक अभ्यासको प्रस्ताव राखेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयअन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रतिष्ठान, संगीत नाट्य प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड र पशुपति क्षेत्र विकास कोष छन्, जसको पदाधिकारी तथा बोर्ड सदस्य सरकारले नियुक्त गर्छ ।

यीसहित नेपाल वायुसेवा निगमको अध्यक्ष, महाप्रबन्धक, बोर्ड सदस्य सरकारले नै नियुक्त गर्ने हो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, मेडिकल काउन्सिल छ, नर्सिङ काउन्सिल छन् । यिनमा पनि प्रमुख र सदस्यहरू सरकारले नै नियुक्त गर्छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय समाज कल्याण परिषद छ । केन्द्रीय बालकल्याण समिति छ । यसमा पनि प्रमुख र सदस्यहरू सरकारले नै नियुक्त गर्छ ।

भूमिसुधार मन्त्रालयअन्तर्गत गुठी संस्थान छ । सुकुम्बासी समस्या समाधान आयोग खाली छ । यसमा पनि अध्यक्ष र सदस्यहरू सरकारले नै नियुक्त गर्छ ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् छ । यसको सदस्य–सचिव सरकारले नै पठाउने हो ।

यी लगायतका कैयन् निकाय र संरचनाहरू छन्, जसमा सरकारले आफैँ नियुक्त गर्छ । वा, संवैधानिक आयोग, न्याय परिषद् आदिबाट नियुक्ति प्रक्रिया अगाडि बढेर नियुक्त हुन्छन् । यी सबै सरकार फेरिएपछि स्वतः फेरिने व्यवस्था राख्दा उचित हुने प्रधानमन्त्री ओलीले बताएका हुन् ।

सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल संसद भएको तर, कर्मचारीको सरुवा र बढुवाको विषय पनि संसदमा ल्याउने विषय उचित नरहेको बताउने क्रममा प्रधानमन्त्रीले फरक अभ्यासको प्रस्ताव राखेका हुन् ।

राष्ट्रसेवक कर्मचारीहरुको गुणरदोष टिप्पणी गर्ने स्थल संसद नभएको प्रधानमन्त्रीको भनाइ छ । उनी भन्छन्, ‘त्यसको प्रक्रिया हुन्छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ ।’

उनका अनुसार सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी महसुस गरेन भने चेन अफ कमान्डले काम गर्दैन । यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्नेसम्मका काम हुन्छन् ।

यस्तो विगतदेखि निरन्तर हुँदै आएको प्रधानमन्त्रीको जवाफ छ । उनी अगाडि भन्छन्, ‘यो अहिलेको सरकारले मात्रै हैन, जहिलेको सरकारले पनि गर्छ । चित्त नबुझ्नेले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ ।’

यदि प्रचलित अभ्यास फेर्ने हो भने संसदले विधि बनाउन सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार