
चितवन जिल्ला अदालतले रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार सकिएको थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँमा छाड्न आदेश दिएको हो ।
“…तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकाले पछि मुद्दामा थप प्रमाण बुज्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रबि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. ५४,००,०००।- (चौवन्न लाख रुपैयाँ) धरौट वा जमानत वा बैड्क जमानत लिनू,” आदेशमा भनिएको छ ।
यसअघि, लामिछाने १३ माघमा रूपन्देही जिल्ला अदालतको आदेशपछि एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
लामिछाने पहिलोपटक गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए । उनी २५ पुसमा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा माघ २ गते रिहा भएका थिए।