अझै एक साता सम्म तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लाग्ने


तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईदेखि पश्चिम तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागिरहेको मौसमविद् प्रतिभा मानन्धरले बाह्रखरीलाई जानकारी दिइन् ।

उनका अनुसार बिहान पौने ६ बजे धनगढीमा २०० मिटर भिजिविलिटी रहेको छ । नेपालगञ्ज र पोखरामा समान ५०० मिटर भिजिविलिटी छ ।

सिमरामा ८०० मिटर भिजिविलिटी रहँदा विराटनगर र चन्द्रगढीमा समान एक हजार मिटर भिजिविलिटी रहेको छ ।

घाम लाग्दै गएपछि केही कम हुँदै जाने र अपराह्नसम्म हट्ने मौसमविद् मानन्धरको भनाइ छ ।

आज पनि तराईका अधिकांश स्थानका विमानस्थलको सेवा बिहान प्रभावित हुनेछ । दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा विमानले उडान र अवतरण गर्न सक्दैनन् ।

“जनवरी महिनाभर तराईमा हुस्सु र कुहिरो लाग्छ । चिसोको समयमा हरेक वर्ष तराईमा हुस्सु र कुहिरो लाग्नु सामान्य हो,” मौसमविद् मानन्धर प्रष्ट पार्छिन्, “फेब्रुअरी सुरु भएपछि हुस्सु र कुहिरो लाग्नेक्रम कम हुँदै जान्छ ।  एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई हुस्सु भनिन्छ ।

न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम चल्नु हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण भएको मौसमविद्को भनाइ छ ।

 

२०८१ माघ ११, शुक्रबार ११:३२ प्रकाशित
ट्रेन्डिङ समाचार