काठमाडौँ । ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’को ‘नायक र नायकत्व’ छलफल सत्रमा बोल्दै अभिनेता दीपकराज गिरीले आफूलाई नायक, महानायक, सम्राट, मेगास्टार, सुपरस्टारजस्ता विशेषणभन्दा कलाकार भन्न रुचाउने बताएका छन् ।
दयाहाङ राई र सुरक्षा पन्त समेत सहभागि सत्रमा दीपकले सो कुरा बताएका हुन् । उनले भने ‘विशेषणको बजारजस्तो लाग्छ, हाम्रो चलचित्र क्षेत्र । दुइटा चलचित्र खेल्न पाएको छैन, विशेषण चाहिने । सायद विशेषणको भोक छ होला । नायक, महानायक कैयौंभन्दा कैयौं गुणा उच्च कलाकारभन्दा अरु विशेषण चाहिँदैन । अग्रज कलाकार, लामो समयसम्म काम गरेकालाई वरिष्ठ कलाकार भन्न सकिन्छ । कसलाई उत्कृष्ट मान्ने रु आउने पुस्तालाई अन्याय होला । यी प्रकारका विशेषणको काम छैन ।
शुद्ध कलाकार । कलाकार भन्दा कति मीठो सुनिन्छ । कसैले माया गरेर हास्यकलाकार भन्नुहुन्छ, त्यसमा खुसी नै हुन्छु । दीपकराज गिरी नायक होइन, उसले निभाएको राजा भन्ने पात्र नायक हो ।
नायक आफैं पात्र हो । भिन्न भिन्न पात्र, खलनायक पात्र, चरित्र अभिनेता, चरित्र अभिनेत्री यी थुप्रै पात्रबीच नायक पनि एक पात्र हो । समय अनुकुल परिभाषा पनि परिवर्तन हुँदै जान्छ । हरेक नायकत्व वा नायक कस्तो हुनुपर्छ भन्ने परिभाषा नै परिवर्तन भइरहेको छ । कुनै सामान्य पात्र पनि नायक हुन सक्छ । परम्परागत भाषामा जुन नायक भनिन्थ्यो, त्यो फरक हो । आजकल नायक भिन्न भिन्न फरकका छन् ।