काठमाडौं ।नेपाल सरकारकी सहसचिव तथा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया पंगेनी भट्टराई लाई निजामती सेवामा इमान्दार, अनुशासित र कुशल प्रशासकका रूपमा चिनिन्छ । तर उहाँको अर्को परिचय पनि उत्तिकै प्रेरणादायी छ—संगीतमार्फत समाज, राष्ट्र र विश्वलाई शान्तिको सन्देश दिने सर्जक।
राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेकी पंगेनीले प्रशासनिक कामकाजलाई मात्र होइन, सांगीतिक सिर्जनामार्फत पनि देशसेवालाई निरन्तरता दिँदै आइरहेकी छिन् ।
यसअघि पनि विभिन्न गीत तथा भिडियो एल्बममार्फत सामाजिक चेतना, देशप्रेम र मानवीय संवेदनाका विषय उठाउँदै आएकी उनको नयाँ देशभक्तिपूर्ण गीत ‘लैजा चरी शान्तिको धून’ अहिले सार्वजनिक भएको छ ।
विश्व शान्तिका लागि संगीत महाअभियान अन्तर्गत निर्माण गरिएको उक्त गीत केवल एउटा म्युजिक भिडियो मात्र नभई शान्ति, सद्भाव, सहअस्तित्व र मानव एकताको भाव फैलाउने सांगीतिक अभियानका रूपमा प्रस्तुत गरिएको छ । गीतले हिंसा, द्वन्द्व र विखण्डनतर्फ उन्मुख विश्वलाई प्रेम, नैतिकता र सहकार्यको मार्गमा फर्काउने सन्देश बोकेको छ ।
गीत सार्वजनिक भएपछि सहसचिव पंगेनीले शान्तिको धूनले नै संसार, मानवता र प्रकृतिलाई जोगाउन सक्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार शान्तिको दीप बालिए मात्रै विकास फुल्न सक्छ, धर्ती सुन्दर बन्न सक्छ र टुटेका मनहरू फेरि जोडिन सक्छन् ।
पंगेनीले विश्वभर शान्तिको फूल रोपेर मानव मनमा सकारात्मकता, योग र नैतिकताको भावना विस्तार गर्न सकिने धारणा पनि व्यक्त गरिन् । “फाटेका मनहरू जोडेर विश्वभाइचारा जगाउन र समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन संगीत शक्तिशाली माध्यम बन्न सक्छ,” उनकोभनाइ छ ।
सरकारी सेवामा रहेर पनि सिर्जनात्मक क्षेत्रमार्फत समाजलाई सकारात्मक सन्देश दिन सकिन्छ भन्ने उदाहरणका रूपमा सहसचिव पंगेनीलाई हेरिएको छ । गीतमा शब्द, संगीत मनमायाको आफ्नै हो भने स्वरमा सहसचिव पंगेनीलाई गायक कमल सौराग ले साथदिएका छन् । साथै संगीत संयोजन सौरागले गरेका हुन् । यस्तै निर्देशक राजकुमार वगरले गीतको रेकर्डलाई राम्रो बनाउन गाइड गरेका छन् । निर्देशक सनम कठायत तथा एभरेष्ट ग्यालेरीको समेत सहकार्य रहेको छ ।यस अभियानलाई नेपाल टेलिकम ले समेत साथ दिएको छ ।
सार्वजनिक सेवा, राष्ट्रिय दायित्व र सांगीतिक चेतनालाई एकसाथ अघि बढाइरहेकी सहसचिव मनमाया पंगेनीको यो प्रयासलाई धेरैले “प्रशासनभित्रबाट आएको सकारात्मक सांस्कृतिक हस्तक्षेप” का रूपमा समेत लिन थालेका छन् ।


