नेकपा एमालेबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, महेश बर्तौला, विद्या भट्टराई, जुलीकुमारी महतोलगायतको नाम चर्चामा छ । यसरी पठाउँदा पौडेलले उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी लिने सम्भावना बलियो छ ।
पौडेल यस अघि अर्थमन्त्री हुँदा देशको समग्र आर्थिक क्षेत्र सुधारमा सकारात्मक प्रगति भएको र नीजि क्षेत्र समेत उत्साहित हुने गरेकाले यस पटक पनि अर्थ मन्त्रालयमा उहाँलाई नै पठाउने करिब करिब निश्चित रहेको बताइएको छ । त्यस्तै काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये एमालेको तर्फबाट कृष्णगोपाल श्रेष्ठले मात्रै जितेका र उपत्यका क्लस्टर मिलाउँदा उहाँको मन्त्री बन्ने सम्भावना बलियो छ । काठमाडौंका हरेक आन्दोलनमा अग्रणी भूमिका खेल्दै पार्टीको साख बचाउन श्रेष्ठको योगदान महत्वपूर्ण रहेकाले उहाँलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र सकारात्मक छलफल भएको नेताहरूले बताएका छन् ।
उता नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने करिब पक्का भएको छ । सिंहसहित जीवन परियार, रमेश लेखक, प्रदीप पौडेल, आरजु देउवा, अजयकुमार चौरासिया, रामहरि खतिवडालगायतको नाम चर्चामा छ । यीमध्ये प्रकाशमानसिंह सभापति देउवा निकट भएर लामो समय सहयोग गरेका नेता हुन् । सिंहले महाधिवेशनमा समेत देउवालाई खुलेर सहयोग गरेको गुन तिर्न र काठमाडौं क्लस्टरबाट उहाँलाई मन्त्री बनाउने विषयमा बूढानीलकण्ठ सकारात्मक भएको नेताहरूले दाबी गरेका छन् ।
त्यस्तै नेता रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । उहाँले देउवा–ओली सत्तासहकार्य गराउन सेतुको भूमिका खेल्नुभएको थियो । सोही योगदानलाई आधार मानेर उहाँलाई सरकारमा सहभागी गराउन नेताहरू सकारात्मक भएको बताइएको छ ।
२०८१ असार २९, शनिबार २३:१३ प्रकाशित