काठमाडौं
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार शुक्रबार बर्हिगमनमा पर्ने पक्का भएपछि स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनले दूरगामी असर पर्ने खालका निर्णय र काम गर्न छोडेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र विभिन्न मन्त्रालयमा रहेको प्रशासनिक संयन्त्रले सामान्य नियमित प्रकृतिका बाहेक अन्य सबै काम गर्न छोडेको हो । निमित्त मुख्य सचिव लीलादेवी गड्तौलाले प्रधानमन्त्री प्रचण्ड सँग यस अवधिमा दूरगामी असर पर्ने खालका कुनै निर्णय नगर्न आग्रह गर्दै मन्त्रिपरिषद्ले त्यस्ता निर्णय गरेमा आफुले प्रमाणित गर्न नसक्ने अडान लिदै आएकी छिन् । अब नयाँ सरकार नआउदा सम्म दूरगामी खालका निर्णयहरु गर्न नहुने अडान उनको छ । निमित्त मुख्य सचिवको सो अडानका कारण जाँदा जाँदै कतिपय महत्वपूर्ण निर्णय गर्ने योजनामा रहेका प्रचण्डलाई सकस परेको छ । निमित्त मुख्य सचिवको अडान थाहा पाएका प्राय सबै मन्त्रालयका सचिवहरुले पनि मन्त्रीले दिएका स्वार्थकेन्द्रित आदेशलाई अटेर गर्न थालेका छन् । अधिकांश सचिवहरुले निमित्त मुख्य सचिवकै वाटो अवलम्वन गरेको बताइएको छ । जसका कारण प्रचण्ड नेतृत्वको सरकार र मन्त्रीले जाँदा जाँदै गर्न लागेका कतिपय स्वार्थ केन्द्रित निर्णय, नियुक्तिहरु रोकिएका छन् । यद्यपि केहि मन्त्रालयमा भने मन्त्री र सचिवको मिलिमतोमा केहि विवादास्पद नियुक्तिहरुको भएको बताइएको छ । मन्त्रीको विवादास्पद निर्णयमा साथ दिने सचिवहरु छिटै बन्न लागेको नयाँ सरकारबाट कारवाहीमा पर्न सक्ने सम्भावना बढेको जनाइएको छ ।
२०८१ असार २७, बिहीबार ११:३३ प्रकाशित