विवादास्पद निर्णय गर्न बोलाइयो मन्त्रिपरिषद् बैठक,मन्त्रिपरिषद्ले निर्णय गरेपनि सबै निर्णयहरु निश्कृय हुने निश्चित


विवादास्पद निर्णय गर्न बोलाइयो मन्त्रिपरिषद् बैठक,मन्त्रिपरिषद्ले निर्णय गरेपनि सबै निर्णयहरु निश्कृय हुने निश्चित
–निमित्त मुख्य सचिव कुनै हालतमा निर्णय प्रमाणित नगर्ने अडानमा
काठमाडौ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाँदाजादै विभिन्न विवादास्पद निर्णय गर्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले विहीबार अन्तिम मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गर्नुभएका उहाँ विश्वासको मत नपाएमा पदमुक्त हुुनुहुनेछ । त्यस अघि विहीबार नै मन्त्रिपरिषद् बैठक राखेर दूरगामी निर्णय गर्ने तयारीमा जुट्नु भएको हो ।
यद्यपि निमित्त मुख्य सचिव लिलादेवी गड्तौलाले भने काम चलाउ भइसकेको सरकारले गरेका कुनै पनि दूरगामी असर पर्ने निर्णयहरु आफुले प्रमाणित नगर्ने अडान राख्दै आइरहनुभएको छ । त्यसैले यस बीचमा सरकारले गर्ने कुनै पनि महत्वपूर्ण निर्णय स्वतह निश्कृय हुने निश्चित जस्तै देखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले निमित्त मुख्य सचिव गड्तौलालाई विहीबार मन्त्रिपरिषद्को बैठक राख्न निर्देशन दिनुभएको छ । तर मुख्य सचिव गड्तौलाले मन्त्रिपरिषद्को निर्णय प्रमाणित नगर्ने बताएपछि प्रधानमन्त्री प्रचण्ड झस्कनु भएको छ । जेसुकै भएपनि प्रधानमन्त्री प्रचण्ड अन्तिम मन्त्रिपरिषद् बैठक राखेर केहि नियुक्ति गर्ने गरी अगाडि बढ्नुभएको छ तर ती नियुक्ति प्रमाणित नभई निश्कृय हुने निश्चित छ । ’प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने ।
केहि मन्त्रीहरुले मन्त्रालयका सचिवहरुलाई जादा जादै महत्वपूर्ण नियुक्ति सम्वन्धि प्रस्ताव तयार पार्न लगाउदा सचिवहरु समेत धर्मसंकटमा पर्न थालेका छन् । जसका कारण सचिवहरु आतंकित बन्न थालेका छन् ।
स्रोतका अनुसार परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न देशमा महावाणिज्यदूतको नियुक्तिका लागि प्रस्ताव तयार पार्न परराष्ट्र सचिव सेवा लम्साललाई दबाव र निर्देशन दिदै आइरहनुभएको छ । परराष्ट्र मन्त्री श्रेष्ठले केहि सहसचिवहरुलाई परराष्ट्र मन्त्रालयमा सरुवा गर्नका लागि प्रस्ताव तयार पार्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीलाई समेत दवाब दिदै आउनुभएको छ । परराष्ट्र मन्त्री श्रेष्ठले कलकत्तामा महावाणिज्यदूतका लागि सहसचिव नवराज ढुंगाना, ग्वान्जाओका लागि नारायणदत्त भट्ट, बेइजिङका लागि अनिता निरौला तथा हङकङका लागि नरेन्द्र रानाको नियुक्तिका लागि प्रस्ताव तयार पार्न परराष्ट्र सचिवलाई तीव्र दवाव दिइरहेको स्रोतले जानकारी दिएको छ । परराष्ट्र सचिव लम्सालले भने प्रस्ताव तयार पार्न आनाकानी गरिरहेको बताइएको छ ।
यसैगरी प्रधानमन्त्रीलाई जादा जादा मुख्य सचिव समेत नियुक्त गरेर जानुपर्छ भन्ने सल्लाह र दबाव पुर्व मुख्य सचिव लिलामणि पौडेलले नै दिएको स्रोतले जानकारी दिएको छ ।माओवादी निकट मानिने पुर्व मुख्य सचिव पौडेलले तोयानारायण ज्ञवालीलाई मुख्य सचिव बनाउन प्रधानमन्त्रीलाई दबाव दिइरहेको बुझिएको छ । मन्त्रिपरिषद्ले नयाँ मुख्य सचिवको निर्णय गरेमा पौडेलको सिफारिसमा ज्ञवालीलाई नै गरिने स्रोतको दावी छ । यद्यपि यो निर्णय पनि प्रमाणित नहुने भएकाले निश्कृय हुने बताइएको छ । यसैगरी अन्य केहि मन्त्रालयबाट समेत विभिन्न खाले प्रस्तावहरु ल्याउने तयारी गरिएको छ । त्यस्ता प्रस्तावमा अधिकांश राजनीतिक नियुक्ति र कर्मचारी सरुवा व्यवस्थापन नै बढि रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

 

२०८१ असार २६, बुधबार २२:५५ प्रकाशित
ट्रेन्डिङ समाचार