कामचलाउ सरकार द्धारा विवादास्पद निर्णय गर्ने हर्कत,मन्त्रिपरिषद्ले निर्णय गरेपनि सबै निर्णयहरु निश्कृय हुने पक्का



–सचिवलाई प्रस्ताव बनाउन दवाव दिदै मन्त्रीहरु
–निमित्त मुख्य सचिव कुनै हालतमा निर्णय प्रमाणित नगर्ने अडानमा
–मन्त्रीले विभिन्न प्रस्ताव तयार पार्न लगाएपछि सचिवहरु आतंकित
काठमाडौ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समयमा विवादास्पद निर्णय नगर्ने मुडमा पुगेपनि केहि पक्षले उक्साएपछि अन्तिम मन्त्रिपरिषद् बैठक राखेर विवादास्पद प्रकृतिका निर्णय गर्ने योजनमा पुग्नु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । काम चलाउ भइसकेको प्रचण्ड नेतृत्वको सरकारले जादाजादै दुरगामी असर पर्ने गरी महत्वपूर्ण निर्णय गर्न लागेको हो ।
प्रधानमन्त्री प्रचण्डले आगामी २८ असारमा संसदमा विश्वासको मत सामना गर्दै हुनुहुन्छ । सम्भवत त्यसै दिन देखि उहाँ पदमुक्त हुनुहुनेछ । त्यस अघि उहाँले २६ वा २७ असार सम्म मन्त्रिपरिषद् बैठक राखेर विभिन्न खालका दूरगामी असर पर्ने खालका निर्णय तथा नियुक्तिहरु गर्ने योजनामा रहेको स्रोतको दावी छ ।
यद्यपि निमित्त मुख्य सचिव लिलादेवी गड्तौलाले भने काम चलाउ भइसकेको सरकारले गरेका कुनै पनि दूरगामी असर पर्ने निर्णयहरु आफुले प्रमाणित नगर्ने अडान राख्दै आइरहेकी छिन् । त्यसैले यस बीचमा सरकारले गर्ने कुनै पनि महत्वपूर्ण निर्णय स्वतह निश्कृय हुने निश्चित जस्तै देखिएको छ । प्रधानमन्त्री लगायतका केहि मन्त्रीहरु भने अन्तिम मन्त्रिपरिषद् बैठक राखेर महत्वपूण नियुक्ति तथा निर्णयहरु गर्ने योजनामा रहनुभएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले निमित्त मुख्य सचिव गड्तौलालाई सकेसम्म बुधबार र त्यो नभए विहीबार सम्म मन्त्रिपरिषद्को बैठक राख्न निर्देशन दिएका छन् । तर मुख्य सचिव गड्तौलाले मन्त्रिपरिषद्को निर्णय प्रमाणित नगर्ने बताएपछि प्रधानमन्त्री प्रचण्ड झस्किएका छन् । जेसुकै भएपनि प्रधानमन्त्री प्रचण्ड अन्तिम मन्त्रिपरिषद् बैठक राखेर केहि नियुक्ति गर्ने गरी अगाडि बढेका छन् तर ती नियुक्ति प्रमाणित नभई निश्कृय हुने निश्चित छ । ’प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने ।
केहि मन्त्रीहरुले मन्त्रालयका सचिवहरुलाई जादा जादै महत्वपूर्ण नियुक्ति सम्वन्धि प्रस्ताव तयार पार्न लगाउदा सचिवहरु समेत धर्मसंकटमा पर्न थालेका छन् । जसका कारण सचिवहरु आतंकित बन्न थालेका छन् । स्रोतका अनुसार परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न देशमा महावाणिज्यदूतको नियुक्तिका लागि प्रस्ताव तयार पार्न परराष्ट्र सचिव सेवा लम्साललाई दबाव र निर्देशन दिदै आइरहेका छन् । परराष्ट्र मन्त्री श्रेष्ठले केहि सहसचिवहरुलाई परराष्ट्र मन्त्रालयमा सरुवा गर्नका लागि प्रस्ताव तयार पार्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीलाई समेत दवाब दिदै आउनुभएको छ । परराष्ट्र मन्त्री श्रेष्ठले कलकत्तामा महावाणिज्यदूतका लागि सहसचिव नवराज ढुंगाना, ग्वान्जाओका लागि नारायणदत्त भट्ट, बेइजिङका लागि अनिता निरौला तथा हङकङका लागि नरेन्द्र रानाको नियुक्तिका लागि प्रस्ताव तयार पार्न परराष्ट्र सचिवलाई तीव्र दवाव दिइरहेको स्रोतले जानकारी दिएको छ । परराष्ट्र सचिव लम्सालले भने प्रस्ताव तयार पार्न आनाकानी गरिरहनुभएको बुझिएको छ ।
यसैगरी प्रधानमन्त्रीलाई जादा जादा मुख्य सचिव समेत नियुक्त गरेर जानुपर्छ भन्ने सल्लाह र दबाव पुर्व मुख्य सचिव लिलामणि पौडेलले नै दिएको स्रोतले जानकारी दिएको छ ।माओवादी निकट मानिने पुर्व मुख्य सचिव पौडेलले तोयानारायण ज्ञवालीलाई मुख्य सचिव बनाउन प्रधानमन्त्रीलाई दबाव दिइरहनुभएको बुझिएको छ । मन्त्रिपरिषद्ले नयाँ मुख्य सचिवको निर्णय गरेमा पौडेलको सिफारिसमा ज्ञवालीलाई नै गरिने स्रोतको दावी छ । यद्यपि यो निर्णय पनि प्रमाणित नहुने भएकाले निश्कृय हुने बताइएको छ । यसैगरी अन्य केहि मन्त्रालयबाट समेत विभिन्न खाले प्रस्तावहरु ल्याउने तयारी गरिएको छ । त्यस्ता प्रस्तावमा अधिकांश राजनीतिक नियुक्ति र कर्मचारी सरुवा व्यवस्थापन नै बढि रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

२०८१ असार २५, मंगलवार २३:१२ प्रकाशित
ट्रेन्डिङ समाचार