- नीति ल्याउन राजनीतिक र प्रशासनिक नेतृत्व नै उदासीन
- नीति ल्याउन राजनीतिक र प्रशासनिक नेतृत्व नै उदासीन
- तर छैन कसैको ध्यान
सार्वजनिक पदमा बसेका सम्पुर्ण राष्ट्रसेवक, जनप्रतिनिधिहरु तथा नीजि क्षेत्रलाई समेत सदाचारी बनाएर सुशासन कायम गर्ने लक्ष्यका साथ ल्याउन लागिएको सदाचार नीतिको मस्यौदा ७ वर्ष देखि गायब छ । सो नीतिको मस्यौदा २०७४ सालमा बनेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै अड्किदै आएको सो नीति ल्याउन राजनीतिक र प्रशासनिक नेतृत्व नै उदासीन बनेको स्रोतको दावी छ ।
सो नीतिमा नागरिक समाजका सदस्य तथा पदाधिकारीलाई समेत सदाचारमा राख्ने गरि प्रस्ताव गरिएको थियो ।
केहि वर्ष देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै सो नीति गायब पार्दै आइरहेको हो । सो नीति ल्याउन प्रधानमन्त्री र मुख्य सचिवले कुनै पहल गर्न सक्नु भएको छैन् ।
प्रधानमन्त्री कार्यालयले सो नीति समयमा ल्याउन नसक्दा मुलुकमा कुशासन बढेको बताइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव प्रेमप्रसाद आचार्यले सदाचार नीतिको मस्यौदा बनेको भएपनि त्यो स्वीकृत नहुदा लागु हुन नसकेको बताउनुभयो । उहाँले सो मस्यौदा राम्रो भएपनि राजनीतिक विषय भएको हुनाले आवश्यक छलफल गरेर टुंगोमा पुग्न जरुरी रहेको स्पष्ट पार्नुभयो । ‘सदाचार नीतिको मस्यौदा नीकै राम्रो छ, त्यो ल्याउन सकिएमा सुशासनमा धेरै राम्रो काम हुन सक्छ त्यसैले यो विषयलाई अगाडि बढाउन हामी आवश्यक पहल गर्छौ ।’ प्रवक्ता आचार्यले प्रशासनपोष्टसँग भन्नुभयो ।
२०७४ सालमा शेर बहादुर देउवा चौथो पटक प्रधानमन्त्री हुदा सदाचार नीति ल्याउने निर्णयमा हस्ताक्षर गर्नुर्भएको थियो । तर त्यतिखेर सो नीतिको मस्यौदा बनाइएको भएपनि उहाँले नीति जारी गरि कार्यान्वयनमा ल्याउन नसकेपछि सो नीतिको मस्यौदा त्यतिकै अड्किदै आएको हो ।
राज्यकोषबाट तलब खाने सम्पुर्ण राष्ट्रसेवक, जनप्रतिनिधि तथा निजी क्षेत्रलाई समेत सदाचारमा राख्ने र भ्रष्टाचारजन्य कार्यमा संलग्न हुन नदिने उद्धेश्यका साथ सो नीति ल्याउन लागिएको थियो । तर सदाचार नीति आएमा अतिरिक्त कमाई रोकिने देखिएपछि राजनीतिक र प्रशासनिक नेतृत्वकै साँठगाँठमा सो नीति गायब पारिएको स्रोतको दावी छ ।
शेरबहादुर देउबा पछि बहुमतका साथ प्रधानमन्त्री बनेका तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि सदाचार नीति ल्याउने तर्फ कुनै चासो देखाउनुभएन् । ओली पछि पुन पाँचौ प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउबाले आफुले अघिल्लो पटक ल्याउने निर्णय गरेको सदाचार नीतिको मस्यौदालाई खोजेर जारी गर्न कुनै पहल गर्नुभएन् जसका कारण सदाचार नीति प्रधानमन्त्री कार्यालयमै अलपत्र पर्दै आयो । अहिले त सो नीति गायब अवस्थामा रहेको स्रोतले जानकारी दियो ।
अहिले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको १८ महिना पगिसक्दा पनि प्रधानमन्त्री कार्यालयमै गायब पारिएको सदाचार नीतिको मस्यौदा खोज्ने तर्फ ध्यान दिन सक्नुभएको छैन ।प्रधानमन्त्री प्रचण्डले सदाचार नीतिको मस्यौदा कहा र कुन अवस्थामा छ भन्ने बारेमा कुनै सोधीखोजी नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरुले बताएका छन् ।
त्यतिखेर सरकारी एवं अन्य क्षेत्रमा समेत भ्रष्टाचार र अनियमितता तथा अनुचित कार्य बढेका कारण राष्ट्रिय स्रोतसाधनको दुरुपयोग हुने क्रम बढेकाले त्यसलाई रोक्न सदाचार नीति ल्याउन प्रयास भएको थियो ।
तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीको पहलमा सदाचार नीतिको मस्यौदा बनेपनि राजनीतिक नेतृत्व र अन्य प्रशासनिक नेतृत्वमा रहेकाहरुले अनिच्छा देखाएपछि सदाचार नीतिको मस्यौदा प्रधानमन्त्री कार्यालयमै बेपत्ता पारिएको हो । सो नीति ल्याउने सम्वन्धमा हालका मुख्य सचिव डा वैकुण्ठ अर्यालले पनि कुनै पहल गर्नुभएको छैन् ।
तत्कालीन समयमा सो नीतिलाई अन्तिम रुप दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा एक उच्चस्तरिय समिति वनाइएको थियो । तर सो समितिले पनि कुनै काम गर्न नसकेपछि सदाचार नीति अलपत्र अवस्थामा गायब पारिएको हो ।
सदाचार नीति, २०७४ को मस्यौदामा सरकारी एवं अन्य क्षेत्रमा समेत भ्रष्टाचार र अनियमितता तथा अनुचित कार्य बढेका कारण राष्ट्रिय स्रोतसाधनको दुरुपयोग हुने क्रम बढेको भन्दै त्यसलाई रोक्न सदाचार नीति ल्याउन लागिएको जनाइएको थियो ।
सरकारले नै वनाएको नीतिको मस्यौदामा नेपालमा भ्रष्टचार मौलाएको र त्यसलाई न्युनीकरण गर्न सदाचार नीतिको आवश्यकता वढेको निश्कर्ष निकालिएको थियो ।
यस्तै, सार्वजनिक जिम्मेवारी लिने पदाधिकारी तथा राष्ट्रसेवक वा कर्मचारीले आफ्नो पदीय जिम्मेवारीअनुरूपको कार्य नगर्नाले र पदीय अनुशासन पालना नगर्नाले भ्रष्टाचार र विकृति बढेकाले सो नीतिको आवश्यकता भएको जनाइएको थियो । सार्वजनिक निकायका पदाधिकारीलगायत निजी क्षेत्र, गैरसरकारी एवं सहकारी क्षेत्र, नागरिक समाजका संस्था तथा पदाधिकारीलाई समेत सदाचार नीति लागू गरिने उल्लेख छ ।
सदाचार नीति लागू हुन सके के हुन्छ ?
अतिरिक्त कमाई गर्न प्रतिवन्ध लाग्छ
–राष्ट्रसेवकले तलब पाउने गरी अन्यत्र व्यावसायिक काम गर्न नपाइने
– पदभार ग्रहण गरेपछि कुनै व्यापार व्यवसाय गर्न रोक
– कुनै व्यावसायिक फर्मस“गको सम्बन्धबाट कुनै रकम लिन पाइदैन
– कसैबाट कुनै उपहार लिन प्रतिवन्ध
– सरकारीबाहेक अन्य क्षेत्रको सहयोगमा बाह्य तथा आन्तरिक भ्रमण गर्न रोकिन्छ
– निजी स्वार्थका लागि पद र गोप्य सूचनाको प्रयोग गर्न नहुने
सदाचार नीति आउदा कडाईमा पर्नेहरु( मस्यौदाका अनुसार)
. विधायिकाका सदस्य तथा पदाधिकारी
. कार्यपालिकाका पदाधिकारी
न्यायपालिकाका पदाधिकारी
. संवैधानिक निकायका पदाधिकारी
राजनीतिक नियुक्ति पाउने सबै पदाधिकारी
निजामती एवं अन्य सबै राष्ट्रसेवक कर्मचारी
राष्ट्रसेवकअन्तर्गत ट्रेड युनियनका पदाधिकारी
सार्वजनिक संस्थान एवं विशेष कार्यका लागि स्थापित संस्थाका पदाधिकारी तथा कर्मचारी
उच्चपदस्थ अधिकारीका सल्लाहकार तथा निजी सचिव
राजनीतिक दल र तिनका भ्रातृ संगठनका पदाधिकारी
प्राध्यापक, शिक्षक र शिक्षण संस्थामा कार्यरत सबै कर्मचारी
नागरिक समाजका पदाधिकारी तथा सदस्य
निजी क्षेत्रका संस्थाका पदाधिकारी तथा सदस्य
सहकारी संस्थाका पदाधिकारी तथा सञ्चालक र पदाधिकारी
सबै पेसागत संघ–संस्थाका पदाधिकारी (जस्तै ः उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, सहकारी संघ, वन पैदावर संघ, वैदेशिक रोजगार व्यवसायी संघलगायत)
गैरसरकारी क्षेत्रका संस्थाका पदाधिकारी तथा कर्मचारी