सर्लाहीको बागमती नगरपालिकाका निलम्वित प्रमुख भरत कुमार थापा विरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ। बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड अनियमितता गरेको आरोप सहित अख्तियारले थापा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस अघि थापाले ५ करोड ३३ लाख अनियमितता गरेको भन्दै अख्तियारले उनी विरुद्ध पहिलो मुद्दा दायर गरेको थियो । यसैगरि अख्तियारले सोही भरत ताल निर्माणका क्रममा अनियमितता गर्ने नगरपालिकाका उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकिय अधिकृत विमल कुमार पोखरेल, इञ्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दोस्रो भ्रष्टाचार मुद्दा खेपेका थापाले भरत ताल शिर्षकमा फिल्म बनाएर सो फिल्ममा आफै नायकको रुपमा खेल्दै थिए । फिल्म बनाउने क्रममा उनी नायक नभएर भ्रष्टाचारको आरोप लागेका खलनायक बनेका छन् । उनी विरुद्ध अख्तियारले सम्पति शुद्धीकरणमा समेत छानबीन गर्ने भएको छ । साथै उनी माथि अकूत सम्पतिमा पनि छानबीन हुन अख्तियारले जनाएको छ ।
थापाले विभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा संघीय सरकारअन्तर्गतको सागरनाथ वन विकास परियोजनाअन्तर्गतको वन क्षेत्रमा स्वीकृतिबिना अनधिकृतरूपमा माछा पोखरी निर्माणको लागि भनी ढुंगा, गिटी, बालुवालगायतवन पैदावार उत्खनन् गरेको अख्तियारको निष्कर्ष छ। अख्तियारको प्रतिवेदनअनुसार, प्रारम्भिक परीक्षण प्रतिवेदन (आईईई) स्वीकृत भएको भन्ने गलत लिखत तयार गरेको पनि भेटिएको छ।
अख्तियारका अनुसार, बागमती नगर कार्यपालिकाबाट उक्त माछा पोखरीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको देखाए पनि बहुउद्देशीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरुयोजना स्वीकृत नगरेको अनुसन्धानको क्रममा भेटिएको छ ।
यस्तै उनले नदीको बहाव प्रयोग गर्न पनि स्वीकृति नलिई माछा पोखरी (हाल ताल) निर्माणको काम अघि बढाएका थिए ।
सागरनाथ वन विकास परियोजना र नेपाल सरकारको स्वीकृतिबिना माछा पोखरी–१ बाट १७ लाख ८८ हजार २६४ घनमिटर र बागमती माछा पोखरी–२ बाट २१ लाख ८४ हजार ९२७ घनमिटर वन पैदावार गरी ३९ लाख ७३ हजार घनमिटर उत्खनन् गरी अनियमितता गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । थापाले सागरनाथ बन परियोजनाको १३ सय विगा जग्गा अतिक्रमण गराई कैयौ स्थानीयलाई बसालेको र उनीहरुलाई भोट बैक बनाएको पाइएको छ । उनीहरुकै भोटका अधारमा उनले दोस्रो पटक मेयरको चुनाव जितेका थिए । अख्तियारले वनको सो जग्गा हटाउन सरकारका सम्वन्धित निकायलाई समेत निर्देशन दिएको छ ।
पोखरी निर्माण गर्दा ३३ लाख ५९ हजार घनमिटर मात्र खर्च तथा मौज्दात देखिएको र नपुग हुने वन पैदावार १३ लाख ४० हजार घनमिटर अनियमितता गरेको अख्तियारको ठहर छ । अपुग परिमाणको मूल्य २६ करोड ८० लाख रूपैयाँबराबर हानिनोक्सानी भएको र १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत जोड्दा ३० करोड २९ लाख रूपैयाँ क्षति भएको दाबी गरी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यसअघि थापा माथि ५ करोड ३३ लाख रूपैयाँबराबर भ्रष्टाचारको अभियोगमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो। त्यही मुद्दाका कारण उनी पदबाट निलम्बित भइसकेका थिए। उक्त मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा अर्को मुद्दा दायर भएको हो।
हुचवामा ५६ करोड दिने प्रदेश, संघ र
स्थानीय तहमाथि अख्तियारले छानबीन गर्ने
वाग्मतीका निलम्वित मेयर भरत कुमार थापाले भरत ताल निर्माण र त्यसको सौन्दर्यकरण गर्न भन्दै प्रदेश सरकारसँग विभिन्न समयमा गरी ४८ करोड लैजान सफल भएका थिए । यसैगरि थापाले केन्द्रिय सरकारसँग ६ करोड र विभिन्न स्थानीय तहसँग २ करोड रुपैया रुपैया फुत्काउन सफल भएका थिए । थापाले विभिन्न पहुँच र सोर्स प्रयोग गरि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग गरि ५६ करोड रुपैया लगेको पाइएपछि रकम दिने निकाय सँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुष्ट देखिएको छ । अख्तियारले हचुवाका आधारमा भरत ताल निर्माण र सौन्दर्यकरण गर्ने बहानामा रकम दिने केन्द्रिय सरकारका निकाय, प्रदेश सरकार र स्थानीय तहमाथि समेत छानबीन र कारवाही हुने जनाएको छ । ‘तालको लागि भनेर तीनवटै सरकारका निकायबाट त्यति ठुलो पैसा हचुवामा दिइएको छ, त्यसपछि त्यसको बारेमा कुनै अनुगमन गरिएको छैन् । त्यसैले यो पनि भ्रष्टाचार नै हो, उनीहरु माथि समेत छानबीन गरि कारवाही गर्छौ । ’अख्तियारका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।