सगरमाथा संवादका लागि भारतद्वारा नेपाललाई १५ वटा विद्युतीय सवारी सहयोग


काठमाडौँ । नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रममा सहजता ल्याउन भारतले नेपाल सरकारलाई १५ युनिट कर्भ ब्रान्डका विद्युतीय सवारी (ईभी) उपहार दिएको छ।

यी सवारीसाधन काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका परराष्ट्र मन्त्री डा. आरजु राणालाई भारतका राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरे।

भारतीय दूतावासले यस उपहारलाई दुई देशबीचको मित्रता र सद्भावको प्रतीकको रूपमा व्याख्या गरेको छ। २–४ जेठमा आयोजना हुने संवाद कार्यक्रमको मूल विषय ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ रहेको छ।

राजदूत श्रीवास्तवले यी सवारीसाधनले कार्यक्रमको समयमा सहभागी अतिथि र अधिकारीको यात्रामा सहजता ल्याउने विश्वास व्यक्त गरे।

परराष्ट्र मन्त्री डा. राणाले भारतको यो सहयोगप्रति आभार व्यक्त गर्दै, नेपाल–भारत सम्बन्ध पुराना, बलिया र विकास साझेदारीमा आधारित रहेको बताइन्।

२०८२ बैशाख ३०, मंगलवार १२:१९ प्रकाशित
ट्रेन्डिङ समाचार