सत्यको पक्षमा उभिनुहोस्, पार्टी सदस्यता त्याग्नुहोस् : पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ


काठमाडौँ।  पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक आन्दोलनमाथिको दमनप्रति आक्रोश व्यक्त गर्दै राजनीतिक पार्टीहरूको सदस्यता त्याग्न शिक्षकहरूलाई आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले भनिन्, “जो नेताहरूलाई तपाईँहरूले बुईमा चढाई-चढाई सबैतिर पुर्‍याउनुभयो, आज वहाँहरूले तपाईँहरू माथि गरेको दमनले उहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला।”

उनले शिक्षकहरूलाई अब पनि कुनै पार्टीको छायाँमा बसिरहने कि विधिको शासनको पक्षमा उभिने भन्ने निर्णय गर्न आग्रह गरिन्।

श्रेष्ठले अघिल्लो दिन काठमाडौँमा भएको शिक्षक आन्दोलनमा प्रहरीले गरेको बल प्रयोगको आलोचना गर्दै शिक्षा क्षेत्रको सुधार र संस्कार परिवर्तनका लागि शिक्षक स्वयं अग्रसर हुनुपर्नेमा जोड दिइन्।

उनको भनाइ अनुसार, देशको व्यवस्था परिवर्तनमा शिक्षकहरूको ऐतिहासिक योगदान भए पनि सत्ता सम्हाल्ने नेताहरूको व्यवहार र दृष्टिकोण परिवर्तन गर्न नसकिएको स्पष्ट भएको छ।

अब समय आएको छ, जब शिक्षकहरूले नयाँ संस्कार निर्माणमा भूमिका खेल्नुपर्छ।

२०८२ बैशाख १४, आईतवार १९:०४ प्रकाशित
ट्रेन्डिङ समाचार