काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन अनुरोध गरेका छन्।
बिहीबार पद तथा गोपनीयताको शपथ लिएका मन्त्री पन्तले शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षाको गुणस्तर र सुधारका लागि शिक्षकहरूसँग संवाद र सहकार्य आवश्यक भएको उल्लेख गर्दै नेपाल शिक्षक महासंघलाई यथाशीघ्र वार्तामा आउन आग्रह गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ “शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई मन्त्रालयको तर्फबाट यथाशीघ्र वार्ता र संवादका लागि अनुरोध गर्दछु।”
हाल देशभर आन्दोलनरत शिक्षकहरू शिक्षा सेवा ऐन र शिक्षकसम्बन्धी विधेयकको विषयमा सरकारसँग असन्तुष्ट छन्। यसैबीच शिक्षामन्त्रीको वार्ताको प्रस्तावले सम्वादको नयाँ सम्भावना देखिएको छ।


