ADVERTISEMENT

हमासले शनिबारसम्ममा बन्धक नछोडे विध्वंश हुने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनले भनेजस्तो गजाका प्यालेस्टिनीलाई छिमेकी इजिप्ट र जोर्डनले नलिए ती देशलाई अमेरिकाले दिइरहेको सहयोग रोक्ने चेतावनी दिएका छन्।

गत मंगलबार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहितको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले गजा आफ्नो अधीनमा लिने र त्यहाँका प्यालेस्टिनीलाई छिमेकी इजिप्ट र जोर्डन लगायत देशमा पुनर्वास गराउनुपर्ने बताएका थिए।

उनको प्रस्तावको इजिप्ट र जोर्डन दुवैले विरोध गरिसकेका छन्।

त्यसबारे ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ठूलो मात्रामा अमेरिकी सैन्य र आर्थिक सहायता प्राप्त गर्ने ती देशले सहमति जनाएनन् भने अमेरिकी सहायता रोक्ने बताएका छन्।

‘यदि उनीहरूले सहमति जनाएनन् भने, म सहायता रोक्न सक्छु,’ उनले भने।

जोर्डनका राजा अब्दुल्लाहले आजै वासिङ्टनमा ट्रम्पलाई भेटेर अरब राष्ट्रहरूको तर्फबाट संयुक्त सन्देश दिने कार्यक्रम छ। त्यसको एक दिनअघि ट्रम्पले सहायता रोक्ने धम्की दिएपछि राजा अब्दुल्लाह दबाबमा परेका छन्।

हमासले युद्ध-विराम सम्झौता अनुसार पहिलो चरणमा रिहा गर्ने भनिएका सबै बन्धक शनिबार सम्ममा नछोडे युद्ध-विराम तोडिने पनि ट्रम्पले बताएका छन्।

इसराइलले युद्ध-विरामका सर्तहरू भंग गरेको भन्दै हमासले बन्धक रिहा गर्ने योजना ढिलो गर्ने बताएको छ। हमासले त्यसो गरे त्यहाँ विध्वंश मच्चिने भनेर ट्रम्पले चेतावनी दिएका छन्।

ट्रम्पको गजाबारे योजनाको अमेरिकाभित्रै समेत विरोध भएको छ। अरब राष्ट्रहरूले पनि त्यसलाई अस्वीकार गरिसकेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ट्रम्पलाई गजा क्षेत्रमा जातीय सफाया (एथ्निक क्लेनजिङ) नगर्न भनेका छन्।

‘समाधान खोज्दा, हामीले समस्यालाई अझ जटिल बनाउनु हुँदैन। अन्तर्राष्ट्रिय कानुनी मान्यताप्रति बफादार रहनु आवश्यक छ। कुनै पनि प्रकारको जातीय सफाया गर्नबाट बच्नु अनिवार्य छ,’ गुटेरेसले युएन समितिका सदस्यहरू सम्मिलित एक पूर्वनिर्धारित बैठकमा बुधबार भने।

‘हामीले दुई-राज्य समाधान (टु-स्टेट सोल्युसन) प्रति पुनः दृढता व्यक्त गर्नुपर्छ,’ उनले भने।

गुटेरेसले ट्रम्पको नाम नलिए पनि उनका प्रवक्ता स्टेफान डुजारिकले उनको टिप्पणीलाई ट्रम्पको प्रस्तावप्रति प्रतिक्रियाका रूपमा लिन मिल्ने भनेका थिए।

गुटेरेसले जोर्डनका राजा अब्दुल्लाहसँग पनि सो क्षेत्रको स्थितिका बारेमा कुरा गरेका थिए।

ट्रम्पको घोषणाको गजामा शासन गर्ने हमास, प्यालेस्टिनी अथोरिटी अनि सबै अरब राष्ट्रहरूले विरोध गरिसकेका छन्।

हमासले उनको घोषणालाई हास्यास्पद र बेतुकको भनेको छ। यसले गजामा फर्किएको शान्ति भंग गर्ने र पुनः तनाव सिर्जना गर्ने जनाएको छ।

गजाको स्वामित्व अमेरिकाले लिने र त्यहाँ रहेका सबै खतरनाक तथा नपड्किएका बम र अन्य हतियारहरू नष्ट गर्ने ट्रम्पले गत मंगलबार भनेका थिए।

अमेरिकी मिडिया सिएनएनका अनुसार पत्रकारहरूले ट्रम्पलाई त्यसो भए गजामा अमेरिकी सेना पठाउन लागिएको हो? भनेर प्रश्न गरेका थिए।

जबाफमा ट्रम्पले त्यसलाई अस्वीकार गरेनन्।

‘हामी आवश्यकता अनुसार गर्नेछौं। यदि आवश्यक परे त्यसो गर्न पनि सक्नेछौं। हामी गजालाई आफ्नो अधीनमा लिएर त्यहाँ विकास गर्नेछौं,’ ट्रम्पको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको थियो।

उनले गजाको स्वामित्व अमेरिकाले लिएपछि त्यहाँ मात्रै नभई पूरै मध्यपूर्वमा दीर्घकालीन स्थिरता रहने बताएका थिए।

गाजामा युद्धविराम घोषणा भएपछि हजारौं हजार मानिसहरू आफ्नो घरमा फर्किएका छन्। ट्रम्पले भने अहिल्यै प्यालेस्टिनीहरू फर्कनु उचित नरहेको बताएका थिए।

‘गजा खण्डहर बनेको छ। बस्नका लागि उचित भइसकेको छैन। किन मानिसहरू फर्किरहेका छन्। बरू मध्यपूर्वकै अन्य देशहरूमा बस्नु उनीहरूका लागि राम्रो हुनेछ,’ ट्रम्पले भने।

ट्रम्पले गजामा युद्धविराम गर्न र बन्धकहरूको रिहाइको श्रेय पनि आफूले लिएका थिए। राष्ट्रपतिमा आफ्नो आगमनपछि इसराइल र हमासलाई दबाब बढेको उनले बताए

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार