एक वर्षमा १६ लाख ५५ हजार नेपाली विदेशी पुगे


पछिल्लो एक वर्षको अवधि (सन् २०२४) मा १६ लाख ५५ हजार ३०९ नेपाली विदेश पुगेका छन्।

विदेश जानेहरूमध्ये ५० प्रतिशतले वैदेशिक रोजगारीको लागि गएको कारण खुलाएका छन्। अन्य ५० प्रतिशत अध्ययन, भ्रमण, व्यापार व्यवसाय, पारिवारिक भेटघाट, स्थायी तथा अस्थायी बसोबासको लागि गएका छन्।

अध्यागमन विभागको तथ्यांक अनुसार रोजगारी र घुम्नको लागि विदेश जाने नेपालीहरू बढी देखिन्छ। करिब ६७ हजार नेपाली त स्थायी बसोबासको लागि विदेश गएको विवरण खुलेको छ।

यति धेरै मानिस कुन देश गएका छन्? कति फर्कन्छन्? कति बस्छन् र वास्तविक रूपमा त्यस वर्ष विदेशमा कति नेपाली थपिएका हुन्छन्?

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार तथ्यांकमा १६ लाख ५५ हजार जना नेपाली विदेश गएको देखाइए पनि यथार्थमा यो गएको मानिसको संख्या मात्रै होइन। कतिपटक नेपाली विदेश गए भन्ने तथ्यांक हो।

एउटै व्यक्ति वर्षमा १० पटक विदेश गयो र नेपाल आयो भने उसको संख्या जानेमा १० बराबर देखिन्छ। कति पटक गयो भन्ने आधारमा अध्यागमन विभागले विदेश जानेहरूको तथ्यांक (संख्या गणना) निकाल्ने गर्छ। नयाँ संख्या कति हो? वा एउटै व्यक्ति कतिपटक? भन्ने तथ्यांक भने विभागले निकाल्दैन।

तर, अध्यागमन विभाग वा श्रम विभागले निकालेको यही तथ्यांकको आधारमा यति धेरै मानिस विदेश गए भन्ने बुझाइ पाइन्छ।

यथार्थमा करिब ४० प्रतिशत मानिस विदेशमा गएको केही समय फर्किएका हुन्छन्। थप ४० प्रतिशत विगतमा गएका मानिसहरू नेपाल फर्किएका हुन्छ।

रोजगारी, स्थायी बसाइँ वा अध्यनको लागि गएका बाहेक अन्य सबै करिब एकै वर्षमा फर्किएका हुन्छन्। कति एकै वर्षमा धेरै पटक आवतजावत गरेका हुन्छन्।

जानेको तथ्यांकलाई आधार मान्ने हो भने औसतमा करिब २० प्रतिशत मानिस मात्रै विदेशमा थपिने गरेको देखिन्छ।

सन् २०२३ मा १६ लाख तीन हजार ८३६ जना नेपाली विदेशमा पुगेका थिए। १२ लाख ६३ हजार ४६९ जना नेपाल फर्किएका थिए।

यो वर्ष १६ लाख ५५ हजार ३०९ नेपाली विदेश गएकोमा १३ लाख ११ हजार तीन सय ७० विदेशबाट फर्किएका छन्।

अघिल्लो वर्षको तुलनामा जानेको संख्या करिब ५० हजार बढी भए पनि औसतमा समग्रमा विदेशमा थपिनेको संख्या उस्तै छ। अघिल्लो वर्ष विदेशमा थपिने नेपालीको संख्या तीन लाख ४० हजार ३६७ थियो। सन् २०२४ मा भने तीन लाख ४३ हजार ९३९ पुगेको छ।

विदेशमा जानेमध्ये सबैभन्दा धेरै युएई, कतार, मलेसिया, भारत र साउदी अरेबियामा गएका छन्। तर कतिपय देशहरूमा भने जानेभन्दा आउने धेरै छन्।

पछिल्लो वर्ष कतारमा एक लाख ७९ हजार ४४० नेपाली गएको देखिन्छ। तर, त्यहाँबाट एक लाख ९२ हजार ८८८ जना फर्किएका छन्। यस आधारमा गत वर्ष कतार जाने भन्दा फर्किने नेपालीको संख्या १३ हजार ४४८ जना धेरै रहेको छ। यसले विगतमा वर्षमा गएका धेरै नेपाली फर्किएको संकेत गर्छ।

भारतबाट पनि जाने भन्दा आउने नेपाली बढी छन्। सन् २०२४ मा भारतमा एक लाख ४९ हजार १७३ नेपाली गएका थिए।

तर अध्यागमन तथ्यांक अनुसार एक लाख ६७ हजार ५८३ फर्किएको देखाएको छ। विगत तीन वर्षदेखि नै भारत र कतारबाट फर्कनेको संख्या बढी देखिएको छ।

तर, क्यानडा, रोमनिया, जापान, अमेरिका लगायतको देशमा भने जानेको तुलनामा फर्कने संख्या निकै कम छ। गत वर्ष क्यानाडा पुगेको संख्याको आधारमा त्यहाँबाट फर्किने नेपाली २० प्रतिशत मात्रै छ। त्यस्तै रोमनिया, जापान र अमेरिकामा पनि २२, ५५ र ६८ प्रतिशत मात्रै छ।

२०८१ माघ २०, आईतवार १७:३३ प्रकाशित
ट्रेन्डिङ समाचार