अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ ।
‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई हो ।
वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ ।
“चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ”, उनले भने ।
त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ छ । एक्यूआईका अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ ।
लाहोरको एकयुआई तीन सय ४१ एक्यूआई छ । साथै दोस्रो स्थानमा रहेको भारतको कोलकाताको एक्यूआई दुई सय ४८, तेस्रो स्थानमा मङ्गोलियाको उलानबाटरको एक्यूआई दुई सय ३८ छ । साथै चौथो स्थानमा रहेको प्रदूषित सहर भारतको नयाँ दिल्लीको एक्यूआई दुई सय २७ एक्यूआई छ ।


